
काठमाडौं। करिब १२ वर्षदेखि विभिन्न कारणले अल्झिएको हेटौँडा-ढल्केबर ४०० केभी प्रसारणलाइन निर्माण अब निर्णायक चरणमा पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
मन्त्री श्रेष्ठले हेटौँडा-ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै निर्माणाधीन प्रसारणलाइनका ‘मल्टिसर्किट टावर’ तथा बाँकी निर्माण कार्यबारे जानकारी लिएका छन्। मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार उनले सबस्टेसनमा निर्माणाधीन दुई ओटा मल्टिसर्किट टावरको अवस्थाबारे जानकारी लिएका हुन्।
हेटौँडा क्षेत्रमा निर्माण गर्न बाँकी १४ ओटा टावरको काम अन्तिम चरणमा पुगेको मन्त्री श्रेष्ठले बताएका छन्। मुआब्जा, जग्गा तथा अन्य प्रक्रियागत विषयका कारण लामो समयदेखि रोकिएको आयोजनालाई गति दिन गरिएको निरन्तर पहल, स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रशासन र सरोकारवालासँगको समन्वय तथा नेपाल विद्युत् प्राधिकरणको सक्रियताले ठोस परिणाम दिन थालेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले देशको ऊर्जा प्रणालीको मेरुदण्डका रूपमा रहेको प्रसारणलाइनको बाँकी काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। उनले निर्माण कम्पनीलाई बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न तथा प्राधिकरणका सम्बन्धित शाखा र निकायलाई आवश्यक सहजीकरण र समन्वय थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।

हेटौँडा-ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने मन्त्री श्रेष्ठले बताएका छन्। उनका अनुसार यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न सहयोग पुग्नेछ।
प्रसारणलाइन सञ्चालनमा आएपछि अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन्। आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना थप विस्तार हुने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले हेटौँडा-ढल्केबर ४०० केभी प्रसारणलाइनलाई नेपालको ऊर्जा रूपान्तरणको महत्वपूर्ण कोसेढुंगा तथा ऊर्जा प्रणालीको मेरुदण्डका रूपमा उल्लेख गरेका छन्।
आयोजनालाई यो चरणसम्म ल्याउन पहल गर्ने जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रभावित नागरिक, नेपाल विद्युत् प्राधिकरणका व्यवस्थापन, प्राविधिक तथा कर्मचारी, निर्माण कम्पनी र सरकारका सम्बन्धित निकायलाई उनले धन्यवाद दिएका छन्।
उनले अब ढिलाइ नभई गति, समन्वय र परिणाम आवश्यक रहेको भन्दै हेटौँडा-ढल्केबर ४०० केभी प्रसारणलाइनलाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

