
गोरखा। बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ स्थित विशालनगर स्याउली बजार तहसनहस बनाएको छ। बाढी गएको करिब एक महिना बित्न लाग्दा पनि प्रभावित बस्तीको सरसफाइ, भग्नावशेष व्यवस्थापन र पीडितको पुनःस्थापना हुन नसकेको स्थानीयले गुनासो गरेका छन्।
गत असोज २५ गते आएको बाढीले बजारका घर, खेतबारी, पशुचौपाया र घरभित्रका सामग्री बगाउनुका साथै कतिपय घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएको थियो। बाढीले स्थानीयको घरबारसँगै जीविकोपार्जनको आधारसमेत नष्ट गरेको छ।

स्थानीय सुर श्रेष्ठका अनुसार बाढीले धानखेती लगाइएको खेत पूर्ण रूपमा बगाएको छ। करिब ५० मुरीसम्म धान उत्पादन हुने खेत नष्ट भएपछि यस वर्ष परिवारको खाद्यान्न जोहो गर्ने आधारसमेत गुमेको उनले बताए।
बाढीको सूचना पाएपछि ज्यान जोगाउन हतारमा घर छाड्नुपरेको घटना सम्झँदै उनले घरबाट लगाउने कपडा र दशैं खर्चका लागि राखेको ५० हजार रुपैयाँ मात्रै लिएर सुरक्षित स्थानतर्फ गएको बताए।
‘यसअघि पनि २०२५ सालमा यस्तो बाढी आएको थियो। त्यसबेला घर बगाएको भए पनि अहिले जस्तो खेतबारीमा लगाएको सबै धान सखाप भएको थिएन,’ उनले भने, ‘यसपालि खेतमा लगाएको सबै बाली नष्ट भयो।’

बाढीपीडितको अवस्था अझै कष्टकर रहेको स्थानीय राजकुमार दाहालले बताए। उनका अनुसार घर भत्किएर थुप्रिएको माटो र भग्नावशेष हटाउने तथा बाटो खुलाउने कामसमेत स्थानीयले आफ्नै खर्च र श्रममा गरिरहेका छन्।
‘बाढीले घर ढालेको छ, बाटो बन्द भएको छ। घरभित्र र वरपर थुप्रिएको माटो र भग्नावशेष हटाउन पनि आफैँ लाग्नुपरेको छ,’ उनले भने, ‘राज्यका तर्फबाट अहिलेसम्म प्रभावकारी सहयोग आएको छैन। विभिन्न संस्थाबाट आएको राहतसमेत फिर्ता गरिएको छ।’

दशैंका बेला घर गुमाएका स्थानीय चुलीदेवी विद्यालयको भवनमा आश्रय लिन पुगेका थिए। तर त्यहाँ बसोबास र खानपानको पर्याप्त व्यवस्था नहुँदा थप समस्या भोग्नुपरेको दाहालले बताए।
उनका अनुसार बाढी प्रभावित बस्तीको अवस्था बुझ्न र क्षतिग्रस्त संरचनाको अवलोकन गर्न जनप्रतिनिधि तथा सम्बन्धित निकाय पुगेका छैनन्। बाढीले क्षति पुर्याएको नयाँ पुल क्षेत्रलाई मात्रै प्राथमिकता दिइएको र बस्तीभित्रको विनाशप्रति बेवास्ता गरिएको उनको गुनासो छ।

स्थानीयले घरघरबाट बाटो खोल्दै आवतजावत सहज बनाउने प्रयास गरिरहेका छन्। डोजर बस्तीभित्रसम्म पुग्न नसकेपछि घर भत्काएर र स्थानीयकै सहयोगमा बाटो खुलाउनुपरेको दाहालले बताए।
बाढीबाट प्रभावित अर्की स्थानीय राममाया घलेको घरभित्रै माटो र गेग्रान थुप्रिएपछि बस्नै नमिल्ने भएको छ। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री नष्ट भएका छन्। बाख्रा फुकाएर ज्यान जोगाए पनि घरभित्रका सामान निकाल्न नसकेको उनले बताइन्।

‘घरभित्रसम्म माटो भरिएको छ। बस्न सक्ने अवस्था छैन। अब कहाँ जाने, कहाँ बस्ने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘माटो फाल्ने शक्ति छैन, साना छोराछोरी छन्। सहयोग गर्ने मान्छे पनि छैनन्।’
बाढीले घर र सम्पत्तिसँगै स्थानीयको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ। घरमा पालेका बङ्गुर तथा अन्य पशुचौपायामा क्षति पुगेपछि प्रभावित परिवार थप आर्थिक संकटमा परेका छन्। दशैंको समयमा आएको बाढीका कारण चाडपर्व मनाउनसमेत नपाएको पीडितको भनाइ छ।

अहिले विशालनगर स्याउली बजारका प्रभावित परिवार सुरक्षित आवास र आधारभूत सुविधाको अभावमा छन्। घरमा फर्केर बस्न सक्ने अवस्था नभए पनि पुनःस्थापनाका लागि आवश्यक व्यवस्था हुन सकेको छैन।
स्थानीयले तत्काल राहत वितरण, बस्तीको सरसफाइ, भग्नावशेष व्यवस्थापन, सुरक्षित आवास र जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।

तस्बिर स्रोत: नेपाल फोटो लाइब्रेरी

