Nepal Purbadhar

भारतको ऊर्जा एक्सचेन्जमा ५९४ मेगावाट बिजुली बेच्न अनुमति, निर्यात स्वीकृति ११९८ मेगावाट पुग्यो


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो । उक्त अनुमतिअनुसार ५९४ मेगावाट विद्युत १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मङ्सिर २०८३– ३१ जेठ २०८४)सम्म आईएक्समा बिक्री गर्न सकिनेछ ।

अनुमतिप्राप्त परिमाणमध्ये २०५ मेगावाट विद्युत कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट विद्युत ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत आइएक्समा बिक्री गरिनेछ ।

नेपाल विद्युत प्राधिकरण र भारतका एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत निर्यात हुँदै आएको छ । चालु वर्षका लागि सम्झौताअनुसार विद्युत निर्यात गर्ने अवधि गत ३१ अक्टोबर (१४ कात्तिक) मा समाप्त भएको थियो ।

मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि प्राधिकरणबाट निर्यातयोग्य आयोजनाहरूको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पेश गरिएको थियो । त्यसपछि स्वीकृतिका लागि निरन्तर पहल तथा फलोअप हुँदै आएको थियो।

सोही प्रक्रियाअन्तर्गत हाल ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो ।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत आइएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यसैगरी, द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार भारतका हरियाणा तथा बिहार र बंगलादेशमा विद्युत निर्यात हुँदै आएको छ ।

थप २१ मेगावाट विद्युत निर्यात स्वीकृति

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ । सेती खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ ( २ मङसिर २०८३–१५ भदौ २०८४) सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।

यससँगै हालसम्म नेपालबाट भारततर्फ कुल १,१९८ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ । त्यस्तै, आगामी हिउँदयामको विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट १,००४ मेगावाट विद्युत आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको छ ।


Read Previous

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

Read Next

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी श्रेष्ठलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar