
काठमाडौं । ऊर्जा क्षेत्रबाट सबैभन्दा बढी कर योगदान गर्ने कम्पनीका रूपमा भोटेकोशी पावर कम्पनी प्रालि सम्मानित भएको छ। आर्थिक वर्ष २०२४/२५ मा उल्लेखनीय कर योगदान गरेबापत कम्पनीले उत्कृष्ट करदाताको सम्मान पाएको हो।
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका १९ व्यक्ति तथा संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको थियो। सोही क्रममा भोटेकोशी पावर कम्पनी ऊर्जा उद्योग विधाबाट सम्मानित भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मानित करदातालाई प्रशंसापत्र प्रदान गरेका थिए।
सम्मानित हुनेमा व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, पर्यटन व्यवसाय र व्यक्तिगत करदातालगायत विभिन्न क्षेत्रका प्रतिनिधि थिए।
सिन्धुपाल्चोकमा रहेको भोटेकोशी पावर कम्पनीले ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ। सन् २००१ जनवरीदेखि व्यावसायिक उत्पादन सुरू गरेको आयोजनाले २५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा विद्युत पुर्याउँदै राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ।
कम्पनीमा नेपाली संस्थाहरूको ९५ प्रतिशत स्वामित्व रहेको छ भने बाँकी ५ प्रतिशत स्वामित्व अमेरिकास्थित एक कम्पनीको छ।

