Nepal Purbadhar

विद्युत् प्राधिकरणमा ठूलो संख्यामा रोजगारी खुल्यो, ३ सयभन्दा बढी इलेक्ट्रिकल सुपरभाइजरको माग


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा तथा समूहका रिक्त पदमा ठूलो संख्यामा कर्मचारी भर्ना गर्ने भएको छ । प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न अधिकृतस्तरदेखि सहायकस्तरसम्मका पदमा दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले प्राविधिक तथा प्रशासनिक सेवाका विभिन्न तहमा योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको छ । विज्ञापनअनुसार तह १० देखि तह ५ सम्मका विभिन्न पदमा खुला तथा समावेशी समूहअन्तर्गत कर्मचारी छनोट गरिनेछ ।

प्राधिकरणले उच्च व्यवस्थापकीय अधिकृतस्तरअन्तर्गत प्राविधिक सेवाको इलेक्ट्रिकल समूहमा तह १० को प्रबन्धक पदमा दलित समावेशी कोटाबाट एक जना माग गरेको छ । उक्त पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा १० वर्ष अधिकृतस्तरमा काम गरेको अनुभव हुनुपर्नेछ ।

त्यस्तै, तह ८ अन्तर्गत प्रशासन सेवाको लेखा समूहमा खुलातर्फ एक जना सहायक निर्देशक र आदिवासी जनजाति कोटामा एक जना वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ ।

प्राविधिक सेवातर्फ तह ८ को सहायक प्रबन्धक पदमा इलेक्ट्रिकल इन्जिनियरतर्फ खुलाबाट दुई र आदिवासी जनजातिबाट एक गरी तीन जना तथा कम्प्युटर इन्जिनियरतर्फ महिला कोटाबाट एक जनाका लागि आवेदन खुलाइएको छ । यी पदमा आवेदन दिन स्नातकोत्तर वा सीए उत्तीर्ण गरेको र कम्तीमा पाँच वर्ष अधिकृतस्तरको कार्यअनुभव भएको हुनुपर्नेछ ।

तह ७ मा ४१ इलेक्ट्रिकल इन्जिनियर माग

अधिकृतस्तरको तह ७ मा प्राधिकरणले प्रशासनिक तथा प्राविधिक दुवै सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

प्रशासन सेवातर्फ प्रशासकीय अधिकृतमा खुला चार, महिला एक, मधेसी एक र अपाङ्ग एक गरी सात जना माग गरिएको छ । कानुन अधिकृतमा खुलातर्फ एक जना, लेखा अधिकृतमा खुला तीन, महिला एक, मधेसी एक र अपाङ्ग एक गरी छ जना तथा चार्टर्ड एकाउन्टेन्टमा खुला र महिला समूहबाट एक–एक गरी दुई जना माग गरिएको छ ।

प्राविधिक सेवाअन्तर्गत इलेक्ट्रिकल इन्जिनियर पदमा सबैभन्दा धेरै ४१ जनाका लागि दरखास्त आह्वान गरिएको छ । जसमा खुलातर्फ २२, महिला ६, आदिवासी जनजाति पाँच, मधेसी चार, दलित दुई, अपाङ्ग एक र पिछडिएको क्षेत्रबाट एक जना छनोट गरिनेछ ।

त्यसैगरी इलेक्ट्रोनिक्स इन्जिनियरमा खुला र दलित कोटाबाट एक–एक गरी दुई जना, मेकानिकल इन्जिनियरमा खुला दुई, आदिवासी जनजाति एक र मधेसी एक गरी चार जना माग गरिएको छ ।

सिभिल इन्जिनियरमा खुला दुई, महिला एक र पिछडिएको क्षेत्रबाट एक गरी चार जना तथा सर्भे इन्जिनियरमा खुलातर्फ एक जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरमा खुला र आदिवासी जनजातिबाट एक–एक जना, वातावरणविद्मा खुलातर्फ एक जना र जियोलोजिष्टमा मधेसी कोटाबाट एक जनाका लागि आवेदन खुलाइएको छ ।

तह ५ मा मात्रै ३ सय २७ प्राविधिक जनशक्ति माग

प्राधिकरणले सहायकस्तरको तह ५ मा पनि विभिन्न प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । यस तहमा प्रशासनिक र प्राविधिक दुवै समूहका पद समावेश छन् ।

प्रशासनतर्फ मिटर रिडिङ सुपरभाइजर पदमा कोशी प्रदेशबाट चार, बागमतीबाट १३ र लुम्बिनीबाट ११ गरी २८ जना माग गरिएको छ । लेखा समूहको लेखापाल पदमा कोशीबाट १०, मधेशबाट तीन, बागमतीबाट १० र लुम्बिनीबाट सात गरी ३० जनाको पदपूर्ति गरिनेछ ।

यी पदमा आवेदन दिन प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरी लोक सेवा आयोग वा संगठित संस्थाको पाँचौं तहको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

प्राविधिक सेवातर्फ इलेक्ट्रिकल सुपरभाइजर पदमा सातै प्रदेशबाट कुल २८८ जना माग गरिएको छ । जसअनुसार कोशी प्रदेशबाट ५७, मधेशबाट २६, बागमतीबाट ७०, गण्डकीबाट ३०, लुम्बिनीबाट ४२, कर्णालीबाट २८ र सुदूरपश्चिमबाट ३५ जना छनोट गरिनेछ ।

त्यस्तै, मेकानिकल सुपरभाइजर वा फोरम्यान पदमा कोशीबाट दुई, लुम्बिनीबाट एक, कर्णालीबाट एक र सुदूरपश्चिमबाट चार गरी आठ जना माग गरिएको छ । सिभिल सब-इन्जिनियर पदमा कोशीबाट दुई र सुदूरपश्चिमबाट एक गरी तीन जनाका लागि आवेदन खुलाइएको छ ।

प्राविधिक सहायकस्तरका यी पदमा प्रतिस्पर्धा गर्न सम्बन्धित विषयमा डिप्लोमा वा तीनवर्षे प्राविधिक प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

कति हुनुपर्छ उमेर ?

प्राधिकरणले तहअनुसार उम्मेदवारको उमेर सीमा पनि निर्धारण गरेको छ । तह १० र तह ८ का पदमा आवेदन दिने उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

तह ७ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ५ का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । महिला तथा अपाङ्गता भएका उम्मेदवारका हकमा तह ७ र तह ५ का लागि माथिल्लो उमेर सीमा ४० वर्ष कायम गरिएको छ । प्राधिकरणमा स्थायी रूपमा कार्यरत कर्मचारीलाई भने उमेरको हद लागू हुने छैन ।

कहिलेसम्म दिन सकिन्छ आवेदन ?

खुला प्रतियोगितामा सहभागी हुन इच्छुक उम्मेदवारले प्राधिकरणको अनलाइन पदपूर्ति पोर्टल ‘करियर डट एनइए डट ओआरजी डट एनपी’ मार्फत आवेदन दिन सक्नेछन् । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीले भने आन्तरिक प्रणाली ‘एचआरआइएस डट एनइए डट ओआरजी डट एनपी’ बाट फाराम भर्नुपर्नेछ ।

दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १० गते तोकिएको छ । उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म फाराम बुझाउन सक्नेछन् ।

परीक्षा दस्तुर तह १० का लागि दुई हजार रुपैयाँ, तह ८ का लागि एक हजार ६ सय रुपैयाँ, तह ७ का लागि एक हजार चार सय रुपैयाँ र तह ५ का लागि आठ सय रुपैयाँ निर्धारण गरिएको छ । एकभन्दा बढी समावेशी समूहमा आवेदन दिने उम्मेदवारले सम्बन्धित तहअनुसार थप दस्तुरसमेत अनलाइन भुक्तानी प्रणालीबाट बुझाउनुपर्नेछ ।

लिखित परीक्षा लोक सेवा आयोगले तोकेका परीक्षा केन्द्रमा सञ्चालन हुनेछ । लिखित परीक्षामा सफल हुने उम्मेदवारलाई मात्र अन्तर्वार्ता तथा सम्बन्धित पदका लागि आवश्यक प्रयोगात्मक परीक्षामा सहभागी गराइने प्राधिकरणले जनाएको छ ।


Read Previous

कालीगण्डकीको बाढीले क्षति गरेपछि मध्यकालीगण्डकी जलविद्युत् आयोजना एक महिनादेखि ठप्प

Read Next

आशुतोष इनर्जीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो स्वीकृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar