
पर्वत/बाग्लुङ। बाढीपहिरोबाट पर्वतमा ३०० परिवार विस्थापित भएका छन् भने जिल्लाभर १७० ओटा घर पूर्ण रूपमा र १३१ ओटा घरमा आंशिक क्षति पुगेको छ। बाढीपहिरोले छ पालिकाका विभिन्न बस्ती प्रभावित भएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार पर्वतका सात पालिकामध्ये छ पालिकामा बाढीपहिरोबाट क्षति पुगेको हो। सबैभन्दा बढी जलजला गाउँपालिका प्रभावित भएको छ। जलजलामा ११३ ओटा घरमा क्षति पुगेको छ भने ५८ ओटा घर पहिरोको उच्च जोखिममा छन्। त्यहाँ १७१ परिवार विस्थापित भएका छन्।
कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ ओटा घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर १३१ ओटा घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए।
बाढीपहिरोबाट पाँच ओटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था तथा प्रहरी चौकीमा समेत क्षति पुगेको छ। पर्वत-बागलुङ जोड्ने झोलुङ्गे पुल र मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गा पुलमा पनि क्षति पुगेको प्रशासनले जनाएको छ।
बाढीपहिरोका कारण जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन्। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास-बिहादी र लुङ्खुदेउराली-हुवास सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने क्षेत्रीले बताए।
विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक संघसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने-ओछ्याउने सामग्री, सरसफाइ तथा स्वास्थ्य उपचारका सामग्री उपलब्ध गराइरहेका छन्।
गलकोटमा बाढीपहिरो र हुरीले ६३ घरमा क्षति
बागलुङको गलकोट नगरपालिकामा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो तथा हुरीले एउटा वडा कार्यालयसहित ६३ ओटा घरमा क्षति पुगेको छ। नगरपालिकाका अनुसार थप १३३ ओटा घरमा आंशिक क्षति भएको छ।
हुरीका कारण ३९ ओटा घरमा पूर्ण र ५२ ओटा घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ।
त्यस्तै, पक्की सिँचाइका २१ ओटा संरचनामा ठूलो र २४ ओटामा सामान्य क्षति भएको छ। कच्ची सिँचाइतर्फ २०३ ओटा संरचनामा समेत क्षति पुगेको नगरपालिकाको विवरणमा उल्लेख छ।

