
काठमाडौं । आगामी सुख्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म विद्युत् आयात गर्ने गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गर्ने तयारी गरेको हो।
प्राधिकरणले भारतका अनुमतिप्राप्त विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव सञ्चालक समितिमा अघि बढाउने तयारी गरेको छ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार १५० मेगावाट विद्युत् चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना छ।
पछिल्ला दुई–तीन वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा नेपालले भारतको विद्युत् पावर एक्सचेन्ज (आईईएक्स) अन्तर्गत डे अहेड मार्केट (डीएएम) तथा रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत् खरिद गर्दै आएको छ। यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीले विद्युत् आयोजनामा थप क्षति पुर्याएपछि आपूर्ति व्यवस्थापन झन् चुनौतीपूर्ण बनेको छ। बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले २०८३ भदौ २५ गते गरेको निर्णयअनुसार आगामी जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो। समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्नुपर्ने निष्कर्षसमेत निकालेको थियो।
विशेषगरी अप्रिल र मे महिनामा विद्युत्को माग बढ्ने भएकाले त्यस अवधिको आपूर्ति–माग अवस्था र भारतीय बजारमा उपलब्ध विद्युत्को क्षमताका आधारमा थप खरिदको निर्णय लिनुपर्ने समितिको सुझाव थियो।
आगामी सुख्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको छ। तर, नदीमा पानीको बहाव घट्ने भएकाले ती आयोजनाबाट समेत सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ। यसले आन्तरिक उत्पादनबाटै माग व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ।
एनटीपीसीले पुरानै दरमा विद्युत् दिन मानेन
प्राधिकरणले यसअघि १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग दररेट प्रस्ताव माग गरेको थियो। प्राप्त प्रस्तावमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए।
सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र (एलओआई) जारी गरिएको थियो। त्यसपछि विद्युत् खरिद सम्झौताका लागि असोज २९ गते कम्पनीलाई बोलाइएको थियो।
तर, कम्पनीले असोज ३० गते पत्र पठाउँदै प्रस्तावित दरमा विद्युत् खरिद सम्झौता गर्न नसक्ने जानकारी गर


