Nepal Purbadhar

विदेश सचिव मिस्रीले प्रधानमन्त्रीलाई दिए अयोध्या-जनकपुर रेल सञ्चालनको तयारी पूरा भएको जानकारी


काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा रेल सञ्चालनका लागि तयारी पूरा भएको जानकारी गराएका हुन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटका क्रममा मिस्रीले अयोध्या-जनकपुर रेलमार्गमा बिहीबार नै रेल परीक्षणसमेत गरिएको जानकारी गराएका थिए।

जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको थियो। भारतीय रेलको २ ओटा इन्जिन र ७ ओटा बोगीसहितको रेलले भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ‘ड्राइ रन’ परीक्षण गरेको हो।

रेल बिहान ११ बजे जनकपुरधाम आइपुगेको थियो। भारतीय र नेपाली रेल अधिकारीको टोलीले रेलमार्ग, सुरक्षा तथा सञ्चालनका प्राविधिक र प्रशासनिक पक्षबारे छलफलसमेत गरेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने तयारीअनुसार परीक्षण गरिएको जानकारी दिए। तर, रेल सञ्चालनको मिति र व्यवस्थापनको मोडालिटी भने टुंगो लागिसकेको छैन।

भारत र नेपालबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको यो रेलमार्ग सञ्चालनमा आएपछि अयोध्या र जनकपुरबीच धार्मिक पर्यटकको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

जनकपुरधामलाई भगवान् रामको जन्मभूमि अयोध्यासँग जोड्ने रेल सेवा सञ्चालन भएपछि धार्मिक पर्यटकको आवागमन बढ्ने र जनकपुरधामको व्यापार-व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी पनि गराएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै उनले भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको बताएका थिए।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको रसुवा-भोटेकोशी बाढीपछि भारतले उद्धार टोली खटाउनुका साथै राहत सामग्री उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए। विपद्का बेला भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत सहयोगको प्रतिबद्धता जनाएकोमा पनि उनले धन्यवाद दिएका थिए।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे पनि चासो राखेका थिए।

त्यसैगरी, मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयन क्षेत्रसँग सम्बन्धित नेपाल-भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए।


Read Previous

लक्षित समुदायका आवश्यकता समेटेर नीति तथा बजेट बनाउन मन्त्री बादीको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar