
काठमाडौं। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहित प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्याकेज-२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको हो।
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन आयोजनाको प्याकेज-२ को काम चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खनन कार्य पूरा भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको छ।
भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम पनि अन्तिम चरणमा रहेको भण्डारीले जानकारी दिए।
विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडान तथा परीक्षणको कामसमेत अघि बढेको छ। जेनेरेटर, टर्बाइन, सीसीटीभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान र परीक्षण भइरहेको आयोजनाले जनाएको छ।
त्यसैगरी, वातावरणीय बहावका लागि आवश्यक संरचना तथा विद्युत्गृह र बाँध सञ्चालन भवन निर्माणको काम पनि जारी छ।
प्याकेज-२ अन्तर्गतका संरचना निर्माण र उपकरण जडान सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ।


