Nepal Purbadhar

कालीगण्डकीको बाढीले क्षति गरेपछि मध्यकालीगण्डकी जलविद्युत् आयोजना एक महिनादेखि ठप्प


म्याग्दी। कालीगण्डकी नदीमा आएको भीषण बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएपछि म्याग्दीमा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम एक महिनादेखि ठप्प भएको छ।

गत असोज ११ गते आएको बाढीले आयोजनाको बाँध, सुरुङ, आवास भवन, मेसिनरी तथा निर्माण उपकरणमा क्षति पुर्‍याएपछि निर्माणकार्य रोकिएको हो। बाढीबाट आयोजनामा १८ देखि २० करोड रुपैयाँसम्मको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए।

उनका अनुसार कालीगण्डकीको बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काउनुका साथै निर्माणस्थलमा गेग्रान थुपारेको छ। बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र समेत बाढी पसेर क्षति पुर्‍याएको छ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिका-२ नागढुङ्गा र वडा नं. ६ रातोपानीमा रहेका आयोजनाका आवास भवन भत्किएका छन्। निर्माण सामग्री बगाएको बाढीले श्रमिक आवास (लेबर क्याम्प), मेसिनरी तथा उपकरण, डिजेल ट्याङ्की र वर्कसपमा समेत क्षति पुर्‍याएको छ।

आयोजना प्रमुख कार्कीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र आवश्यक व्यवस्थापकीय तयारीपछि निर्माणकार्य पुनः सञ्चालन गरिनेछ। बाढीले बगाएका आवास तथा श्रमिक क्याम्प पुनर्निर्माण गरी तिहारलगत्तै काम अघि बढाउने तयारी गरिएको उनले बताए।

२०८१ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम बाढी आउनुअघि निरन्तर अघि बढिरहेको थियो। बाढीले महत्त्वपूर्ण संरचनामा क्षति पुर्‍याएपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ।

आयोजनाअन्तर्गत सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरिनेछ। बाँधबाट ल्याइएको पानी ४ हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत अन्नपूर्ण गाउँपालिका-२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा पुर्‍याइनेछ। त्यहाँ १५१ मिटरको उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गरिने योजना छ।

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचयार्ड र नियन्त्रण कक्ष भूमिगत रहनेछन्। आयोजनाबाट उत्पादित विद्युत् नौनीबगरदेखि करिब ७ किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

तीन वर्षभित्र अर्थात् २०८५ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा नबिल बैंकको नेतृत्वमा ६ ओटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्तामार्फत जुटाइनेछ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद-बिक्री सम्झौता भइसकेको छ। सम्झौताअनुसार आयोजनाबाट उत्पादित विद्युत् हिउँदयाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दरले बिक्री हुनेछ।


Read Previous

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न, उपकरण परीक्षण जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar