Nepal Purbadhar

कालीगण्डकीको कटानले क्षतिग्रस्त बेनी बजारको पर्खाल पुनर्निर्माण गरिँदै, ५ करोड खर्च लाग्ने अनुमान


म्याग्दी। कालीगण्डकी नदीको बाढीले कटान गरी क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माण गरिने भएको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि करिब ५ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

आगामी बर्खाअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ।

बाढीले बेनी नगरपालिका-८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं. ७ स्थित म्याग्दी जेसीजको कार्यालय अगाडिको करिब १५ मिटर लामो पर्खालमा क्षति पुर्‍याएको थियो। नदी कटानका कारण पर्खालसँगै चक्रपथसमेत प्रभावित भएको छ।

आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिग्रस्त पर्खाल पुनर्निर्माणका लागि लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना छ। पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिनेछ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको संरक्षणका लागि क्षतिग्रस्त पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताए। उनले छिटो लागत अनुमान तयार गरी बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढाउन आयोजनालाई अनुरोध गरेका छन्।

आयोजना प्रमुख प्रेमहरि पराजुलीले मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण जलस्रोत तथा सिँचाइ विभागमा पठाइसकिएको जानकारी दिए। पछिल्लो समय थप क्षति देखिएकाले अद्यावधिक विवरण तयार गरी आवश्यक बजेटका लागि विभागमा पठाउने तयारी भइरहेको उनले बताए।

कालीगण्डकी नदीको कटानबाट जोखिममा परेका बेनी बजारलगायतका बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर आगामी बर्खाअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने लक्ष्य रहेको पराजुलीले बताए।

यसअघि पनि उक्त स्थानमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो। बाढीले ती संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माण गर्न लागिएको हो।


Read Previous

हिमाली जोखिम न्यूनीकरणका लागि प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाइने

Read Next

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न, उपकरण परीक्षण जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar