Nepal Purbadhar

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला, चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी


काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा थप दुई जनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले सोमबार थप दुई शव फेला पारेको हो।

एनएनएमजीएका अनुसार फेला परेका शव वीरेन्द्र गुरुङ र घनश्याम राईका हुन्। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

थप दुई शव फेला परेसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। हिमपहिरोमा परी अझै केही व्यक्ति सम्पर्कविहीन रहेको आशङ्का गरिए पनि यकिन संख्या पुष्टि हुन सकेको छैन।

एसोसिएसनले हिमपहिरोमा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्य निरन्तर जारी राख्ने जनाएको छ। हिमाली क्षेत्रमा मौसम तथा भौगोलिक अवस्थाका कारण खोज तथा उद्धारमा चुनौती देखिएको छ।

चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

यसैबीच, मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई आजै विस्फोट गराएर खोल्ने तयारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले थुनिएको नदीलाई विस्फोट गराएर खोल्ने निर्णय गरेको हो।

उनका अनुसार नदी खोल्नका लागि नेपाली सेनासँग विस्फोट प्राविधिक टोली पठाउन अनुरोध गर्ने निर्णय भएको छ। काठमाडौंबाट नेपाली सेनाको विस्फोट प्राविधिक टोली मनाङ आएपछि आवश्यक प्रक्रिया पूरा गरेर थुनिएको नदी विस्फोट गराई खोल्ने तयारी गरिएको छ।

विस्फोटका लागि आवश्यक सामग्री मनाङकै स्थानीय तहसँग उपलब्ध रहेको पौडेलले बताए।

बाढीपहिरोपछि नदी थुनिएको थियो

आइतबार ठाडो खोला र घट्टे खोलामा आएको बाढी तथा पहिरोले मनाङका विभिन्न स्थानमा कटान गर्नुका साथै घर, पुल र सडकमा क्षति पुर्‍याएको थियो।

आइतबार साँझ घट्टे खोलामा पहिरो खसेर आएको ठूलो परिमाणको लेदो, हिलो, ढुङ्गा तथा माटो थुप्रिएपछि मर्स्याङ्दी नदी थुनिएको थियो। नदी थुनिएर पानीको सतह बढेपछि चामे आसपासका बस्तीमा जोखिम बढेको थियो।

नदी थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दा जंगल, सामुदायिक भवन तथा नेपाली सेनाको ब्यारेकमा गएर रात बिताएका थिए।

मौसममा सुधार आएपछि चामेका स्थानीय बासिन्दा सोमबार बिहान घर फर्किएका छन्। यद्यपि, मर्स्याङ्दी नदी अझै पूर्णरूपमा नखुलेको र सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सतर्कता अपनाइरहेको छ।

नदीलाई विस्फोट गराएर खोल्ने तयारीसँगै आसपासका क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले सुरक्षा तथा उद्धार निकायलाई तयारी अवस्थामा राखिएको छ।


Read Previous

दुर्गा प्रसाईं फेरि पक्राउ, सामाजिक सञ्जालमा सरकारको कारबाहीमाथि ट्रोल सुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar