Nepal Purbadhar

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध


असोज। लगातारको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले विद्युत् तथा इन्टरनेटका संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

निलगिरि उपभोक्ता सहकारी संस्था जोमसोमका प्रमुख सनप्रसाद थकालीका अनुसार पर्वतको डिमुवाबाट आउने ३३ केभी प्रसारण लाइनका पोलमा बाढीपहिरो तथा नदी कटानले क्षति पुर्‍याएपछि मुस्ताङसँग विद्युत् प्रसारण सम्पर्क विच्छेद भएको हो।

पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेपछि म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन नसकेर बन्द भएको थकालीले बताए। विद्युत् सेवा अवरुद्ध हुँदा म्याग्दीको उत्तरी क्षेत्र तथा मुस्ताङको अवस्थाबारे जानकारी लिनसमेत समस्या भएको उनले बताए।

बाढीपहिरोका कारण अवरुद्ध विद्युत् प्रसारण लाइनमध्ये म्याग्दीको बेनीसम्मको लाइन भने आइतबार साँझ मर्मत गरी सञ्चालनमा ल्याइएको छ। ३३ केभी प्रसारण लाइन र दाना सबस्टेसनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली त्यसतर्फ पठाइएको थकालीले बताए।

यसैगरी, मुस्ताङको थासाङ गाउँपालिका-३ का विभिन्न स्थानमा रुख ढलेर विद्युत्का पोलमा क्षति पुगेको छ। मौसम खुलेपछि उक्त क्षेत्रमा विद्युत् लाइन मर्मत गर्न प्राविधिक टोली परिचालन गरिएको छ।

बाढीपहिरोका कारण अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको र आज साँझसम्म सेवा नियमित गर्ने लक्ष्य राखिएको थकालीले बताए।

फाइबर इन्टरनेट पनि अवरुद्ध

बाढीपहिरो र नदी कटानका कारण विद्युत्सँगै फाइबर इन्टरनेटको संरचनामा समेत क्षति पुगेपछि मुस्ताङमा ३६ घण्टादेखि इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ।

नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख हुम भुजेलका अनुसार पर्वत र म्याग्दी खण्डका दर्जनौँ स्थानमा अप्टिकल फाइबरका संरचनामा क्षति पुगेपछि मुस्ताङसम्मको इन्टरनेट सेवा अवरुद्ध भएको हो।

अवरुद्ध संरचनाको मर्मत गरी म्याग्दीको बेनीसम्म इन्टरनेट सेवा सहज भइसकेको भए पनि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा सेवा अझै सञ्चालन हुन नसकेको भुजेलले बताए।

उनका अनुसार म्याग्दीको बैसरी तथा मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित लेतेलगायत स्थानमा फाइबर लाइन मर्मतको काम भइरहेको छ।

रेडियो लिंकबाट टेलिफोन र फोरजी सञ्चालन

अप्टिकल फाइबर इन्टरनेट सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको रेडियो लिंकमार्फत टेलिफोन तथा फोरजी सेवा सञ्चालन भइरहेको छ।

भुजेलका अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित छुसाङदेखि कोरला नाकासम्म सोलार प्रविधिबाट रेडियो लिंक सञ्चालनमा रहेकाले उक्त क्षेत्रमा टेलिफोन तथा फोरजी सेवा प्रयोग गर्न सकिने अवस्था छ।

अवरुद्ध अप्टिकल फाइबर सेवा सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिएको र आज साँझसम्म सेवा नियमित गर्ने प्रयास भइरहेको भुजेलले बताए।

लगातारको वर्षा, बाढीपहिरो तथा सडक अवरोधका कारण क्षतिग्रस्त संरचनामा प्राविधिक टोली पुग्नसमेत कठिनाइ भएको जनाइएको छ।


Read Previous

हिमलुङ हिमपहिरोमा थप दुई शव फेला, चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar