
वालिङ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको कालीगण्डकी गाउँपालिका-५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरू गर्ने तयारी गरेको छ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिमलाई ध्यानमा राख्दै आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको थियो।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीको जलसतह घट्दै गएपछि सुरुङभित्र जम्मा भएको हिलो हटाउने तथा पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन पुनः सुरू गर्न लागिएको हो।
उनका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेको छ। अवस्था सामान्य रहेमा आज बिहान १० बजेदेखि विद्युत् उत्पादन सुरू गर्न सकिने उनले बताए।
कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित आयोजनाको बाँधका सबै ढोका खोलेर पानी नदीतर्फ छोडिएको थियो। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।
सेतीवेणी बजार अझै प्रभावित
अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ। बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा राखिएको छ।
यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो।
नदीको बहाव घट्दै गए पनि प्रभावित क्षेत्रमा थप जोखिमको अवस्था रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

