Nepal Purbadhar

बीपी राजमार्ग अझै ठप्प, चौकी डाँडामा अस्थायी ड्राइभर्सन बनाउन तीन स्काभेटर परिचालन


असोज । हालैको वर्षासँगै पहिरो र रोशी नदीको कटानका कारण अवरुद्ध बीपी राजमार्गअन्तर्गत खुर्कोट-भकुण्डेबेँसी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

काभ्रेको नमोबुद्ध नगरपालिका-६ स्थित चौकी डाँडामा रोशी खोलाले सडक बगाएपछि राजमार्गको करिब २०० मिटरभन्दा बढी भागको संरचना नै बाँकी नरहेको जनाइएको छ। उक्त स्थानमा चार दिनदेखि सडक पूर्णरूपमा ठप्प छ।

सोमबार बिहानदेखि चौकी डाँडातर्फबाट एक र कटुञ्जेतर्फबाट दुई गरी तीन ओटा स्काभेटर परिचालन गरेर अस्थायी ड्राइभर्सन निर्माणको काम सुरू गरिएको छ।

रोशी खोलाको बहाव, दुई ओटा खोला, भिर, घुम्ती तथा उकालो-ओरालो रहेको जटिल भूबनोटका कारण उक्त स्थानमा तत्कालै सवारी सञ्चालन गर्न कठिन रहेको जनाइएको छ। ड्राइभर्सन निर्माणपछि मात्रै सवारी आवागमन सञ्चालन गर्ने तयारी छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानले बीपी राजमार्गका विभिन्न स्थानमा अवरोध सिर्जना भएको छ। अवरोध हटाउने काम सम्पन्न नभएकाले आज पनि खुर्कोट-भकुण्डेबेँसी खण्ड बन्द रहेको छ।

डिभिजन सडक कार्यालय भक्तपुरको टोली सोमबार बिहानैदेखि सडक सञ्चालनका लागि प्रभावित क्षेत्रमा परिचालन भएको छ। मौसमले साथ दिएमा असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लगातारको वर्षा र जटिल भौगोलिक अवस्थाका कारण सडक मर्मत तथा अस्थायी मार्ग निर्माणमा चुनौती रहेकाले सम्बन्धित निकायले यात्रुलाई सडक खुलेको आधिकारिक सूचना नआएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।


Read Previous

कालीगण्डकीमा जलसतह घटेसँगै विद्युत् उत्पादन सुरू गर्ने तयारी

Read Next

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो, स्थानीय घर फर्किन थाले, घर, पुल र सडकमा क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar