
काठमाडौं। संखुवासभाको चैनपुर-६ मा जन्मेका एक बालकले कुनै दिन देशकै ठुलो जलविद्युत लगानी कम्पनीको नेतृत्व सम्हाल्लान् भन्ने सायदै कसैले सोचेका थिए। तर, दृढ इच्छाशक्ति र निरन्तरको अध्ययनले मानिसलाई कुन उचाइमा पुर्याउँछ भन्ने एउटा जीवन्त उदाहरण हुन्- जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतम।
संखुवासभादेखि काठमाडौँसम्मको यात्रा
वि.सं. २०२५ साल वैशाख १५ गते संखुवासभामा जन्मिएका गौतमको प्रारम्भिक शिक्षा गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट सुरु भयो । त्यहाँबाट एसएलसी र आईकम सकेपछि उनी उच्च शिक्षाका लागि काठमाडौँको शंकरदेव क्याम्पस छिरे । २०४५ सालमा काठमाडौँ छिरेका उनले त्यसको एक वर्षपछि अर्थात २०४६ सालदेखि नै सरकारी सेवाको यात्रा सुरु गरे ।
“मेरो पहिलो जागिर कर्मचारी सञ्चय कोषमा सहायक चौथो तह (खरिदार सरह) बाट सुरु भएको थियो,” उनी सम्झिन्छन्, “त्यतिबेला मेरो पहिलो तलब मासिक ९४५ रुपैयाँ मात्र थियो।”
५० वर्षको उमेरमा सीए: अध्ययनमा कहिल्यै नमेटिने भोक
गौतमको शैक्षिक यात्रा कुनै रोचक कथाभन्दा कम छैन । उनले बी.कम., एम.बी.ए. (एम कम), र एम.पी.ए. मात्र गरेनन्, सार्वजनिक प्रशासनमा एम.फिल. (एमफिल) समेत गरे । तर, उनलाई यतिले मात्र पुगेन । उनले ५० वर्षको उमेर पुग्दा चार्टर्ड एकाउन्टेन्सी (सीए ) पूरा गरेर एक दुर्लभ रेकर्ड नै बनाए । उनी धेरै उमेरमा सीए बन्ने पहिलो नेपाली बनेर रेकर्ड नै कायम गरे ।
“५० वर्षको उमेरमा सीए गर्नु नेपालका लागि एउटा रेकर्ड नै हो,” उनी गर्वका साथ भन्छन् । यसबाहेक उनले डिप्लोपा इन आईएफआरएस पनि गरेका छन्। यो निरन्तरको अध्ययनले नै उनलाई सरकारी सेवाको तल्लो तहदेखि १०औँ तह (मुख्य प्रबन्धक) र त्यसपछि सिधै एचआइडिसिएलको सीइओसम्म पुर्यायो ।
संस्थागत हित: अडान र इमानदारिता
जागिरको ३ दशकभन्दा लामो यात्रामा उनी कहिल्यै विवादमा परेनन् । यसको एउटै कारण थियो- ‘संस्थाको हित’। उनका सहकर्मीहरू उनलाई अलि ‘जिद्दी’ स्वभावको मान्छन्, किनकि उनी गलत कुरामा कहिल्यै सम्झौता गर्दैनन् । “संस्थाको अहित हुने कुरामा म कहिल्यै मान्दिनँ,” उनी दृढताका साथ भन्छन्, “अनावश्यक रुपमा दुई रुपैयाँ खर्च गर्नु पनि मेरो लागि अहित हो।”
आफ्नो कार्यसम्पादनलाई उनी आफैँले ८० अंक दिन्छन्, जबकि संचालक समितिले उनलाई ९० भन्दा माथिको रेटिङ दिएको छ । आफुले एचआइडिसिएलमा आएपछि कम्पनीलाई वित्तीय संस्थाका रुपमा स्थापित गराउन खेलेको भूमिकालाई उनी आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि मान्छन्।
आमाको सपना र पीएचडीको लक्ष्य
गौतमको सफलताको पछाडि पारिवारिक प्रेरणाको ठुलो हात छ। उनकी श्रीमती नेपाल सरकारको सचिव जस्तो गरिमामय पदबाट रिटार्यड भएकी छिन् । घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलित ढंगले लैजान उनलाई कहिल्यै कठिन भएन ।
उनको अबको एउटा ठुलो धोको छ- विद्यावारिधि (पीएचडी) गर्ने । यो उनको मात्र नभएर उनकी आमाको सपना हो। “मेरो काइँलो काकाले ३५/३६ सालमै पीएचडी गर्नुभएको थियो । त्यतिबेलै आमाले भन्नुभएको थियो- बाबु काकाले जति पढ्नु है। त्यही ११ वर्षको उमेरमा आमाले देखाएको सपना पूरा गर्न म अब पीएचडीमा लाग्नेछु,” उनी भावुक सुनिन्छन् । उनी त्यसको तयारीमा जुटिसकेका छन् । अध्ययन सुरु गर्न तर्खरमा छन् ।
अवकाशपछिको योजना: अर्को जागिर होइन, अध्ययन र अध्यापन
सरकारी सेवाबाट औपचारिक बिदा लिएका गौतमले एउटा स्पष्ट सिद्धान्त बनाएका छन्— “अवकाशपछि अर्को जागिर खाने छैन।” ३५ वर्षको जागिरे जीवनपछि उनी अब बाँकी समय अध्ययन, अनुसन्धान, लेखन, अध्यापन र परामर्श सेवामा बिताउन चाहन्छन्। विशेष गरी जलविद्युत क्षेत्रमा उनले हासिल गरेको अनुभवलाई समाज र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उनको योजना छ।
९४५ रुपैयाँको तलबबाट सुरु भएको उनको यात्रा आज एउटा सफल प्रशासक र विशेषज्ञका रुपमा विश्राम लिँदैछ। तर, उनको अध्ययनप्रतिको भोक र आमाको सपना पूरा गर्ने हुटहुटीले उनलाई अझै नयाँ उचाइमा पुर्याउने निश्चित छ। – नेपाल पूर्वाधार समृद्धि म्यागेजिनबाट


