
काठमाडौं । नेपालमा जलन उपचार सेवालाई विस्तार र गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ।
सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवा सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिनको तालिम सम्पन्न भएको हो।
तालिमको पहिलो पाइलटिङ ब्याचमा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, कर्णाली प्रदेश, सुर्खेतका चार/चार जना गरी आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।
तालिम असोज ७ देखि ३० गतेसम्म पहिलो चरण र कात्तिक ९ देखि १८ गतेसम्म दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिएको थियो। विषयविज्ञ डा. शंकरमान राईको नेतृत्वमा तालिम सम्पन्न भएको हो।
कात्तिक १८ गते राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक प्रकाशप्रसाद शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद पौडेल, उपचारात्मक सेवा महाशाखाका निर्देशक पवनजंग रायमाझीलगायत मन्त्रालयका प्रतिनिधि, जलन उपचार क्षेत्रका सरोकारवाला तथा विषयविज्ञहरूको उपस्थिति थियो।
नेपाल सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार लेभल ३ को जलन उपचार सेवा सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
तालिमबाट प्राप्त ज्ञान र सीपलाई सम्बन्धित अस्पतालमा उपयोग गरी जलन उपचार वार्ड स्थापना तथा सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।


