
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।
मंगलबार भएको दुर्घटनामा एयर डाइनेस्टीको ‘९एन-एओडी’ र फिस्टेल एयरको ‘९एन-एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने २ जना पाइलट र एक यात्रु घाइते भएका थिए।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिलाई दुर्घटनाको कारण र त्यसमा संलग्न कारक तत्त्वको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
साथै, भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत प्रतिवेदनमा समेट्न समितिलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।



