
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तिहार र छठ पर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न तथा त्यसलगत्तै सुरू हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
बुधबार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत्को माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।
चाडपर्वमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन र कुनै पनि क्षेत्रमा अनावश्यक अवरोध हुन नदिन उनले स्पष्ट निर्देशन दिएका छन्।
त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई आग्रह गरेका छन्।
सुख्खायाममा हुन सक्ने विद्युत् माग र उपलब्धताको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित विस्तृत कार्ययोजना तयार गर्न उनले निर्देशन दिएका छन्। उक्त कार्ययोजना आगामी सञ्चालक समिति बैठकमा प्रस्तुतीकरणसहित पेस गर्न पनि उनले भनेका छन्।

