Nepal Purbadhar

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग नेपालको आग्रह, फुकोट कर्णालीको विषयमा के भयो छलफल ?


काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा सहकार्य, विद्युत् व्यापार विस्तार तथा जलविद्युत् आयोजना विकासका विषयमा छलफल भएको छ ।

ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग आज भएको भेटवार्तामा नेपालले भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्न आग्रह गरेका हुन् । नेपालले वर्खामा सरप्लस हुने झण्डै १२०० मेगावाट बिजुली निर्यात गर्न पाउँछ । उत्पादित बिजुली बजार अभावका कारण खेर जाने अवस्था छ । सरप्लस बिजुली किनिदिन भारतलाइ नेपालले आग्रह गरेको हो ।

साथै, मौसमसम्बन्धी सूचना तथा तथ्यांक आदानप्रदानमा सहकार्य बढाउन पनि भारतीय पक्षसँग प्रस्ताव गरिएको छ ।

भेटवार्तामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजनाको पछिल्लो प्रगतिबारे समेत छलफल भएको छ ।

अरुण तेस्रो भारतीय कम्पनी एनएचपीसीले बनाइरहेको छ । फुकोट कर्णाली पनि एनएचपीसीले पाएको छ । काम हुन सकेको छैन् । अदालतका कारण झण्डै दुई वर्ष काम रोकिएको हो । अहिले यो आयोजना बन्न मुश्किल अवस्थामा पुगेको छ ।

नेपालको जलविद्युत् उत्पादन क्षमता र सम्भावनालाई क्षेत्रीय ऊर्जा व्यापार तथा आर्थिक समृद्धिसँग जोड्न द्विपक्षीय सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।

दुवै पक्षबीच छलफलका क्रममा उठेका विषयलाई निरन्तर संवाद र समन्वयमार्फत अघि बढाउने सहमति भएको छ । नेपालको ऊर्जा सम्भावनाको उपयोग, क्षेत्रीय ऊर्जा सहकार्यको विस्तार र आर्थिक समृद्धिका लागि भारतसँगको सहकार्यलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।


Read Previous

ट्रंक डेडिकेटेडलाइन विवाद : प्राधिकरणले उद्योगीलाई बोलायो

Read Next

विचाराधीन विधेयक छिटो अघि बढाउन संसदीय समितिका सभापतिलाई सभामुख अर्यालको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar