
सल्यान। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकास राज्यको महत्त्वपूर्ण दायित्व भएको बताएकी छन्।
सल्यान जिल्लाको अनुगमनका क्रममा शारदा नगरपालिका-५, तल्लीमाकैस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा सञ्चालित बाल संरक्षण छात्रावासको स्थलगत अवलोकन गर्दै मन्त्री बादीले यस्तो बताएकी हुन्।

संरक्षणविहीन तथा अतिविपन्न परिवारका बालबालिकालाई आवासीय सुविधासहित संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालित छात्रावासको अवस्था बुझ्न पुगेकी मन्त्री बादीले त्यहाँ आश्रित बालबालिकाको अवस्था, आवासीय सुविधा, खानपान, शिक्षा, स्वास्थ्य तथा उनीहरूका आवश्यकताबारे जानकारी लिएकी थिइन्।
उनले छात्रावासलाई आवश्यक पर्ने सहयोग तथा व्यवस्थापनका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग समन्वय गरी छात्रावासका आवश्यकता सम्बोधन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइन्।
अवलोकनका क्रममा सल्यानका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।


