
सवारीसाधन सडकमा चहलपहल बढ्दै काठमाडौँ, ६ कात्तिकः काठमाडौँको गोँगबुस्थित चक्रपथ सडक(रिङरोड) मा गन्तव्यतर्फ जाँदै गरेका सवारीसाधन । दसैँ मनाउन घर गएका सर्वसाधारण काठमाडौँ फर्किएसँगै सडकमा चहलपहल बढ्दै गएको छ। तस्बिरः हरिराम भेटवाल/रासस
काठमाडौँ। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढ्न थालेको छ ।
दशैंको टीका र आशीर्वाद थापेर घर गएका यात्रुहरू फर्किने क्रम बढेसँगै नागढुङ्गा-कलङ्की, जडीबुटी-कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली-फर्पिङलगायत सडकखण्डमा सवारी चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यात्रुको आवागमन सहज बनाउन र सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
त्यस्तै, उपत्यका फर्किने यात्रुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप नियन्त्रण गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको कार्यालयका प्रवक्ता प्रहरी नरेशराज सुवेदीले जानकारी दिए ।
उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना-ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष दशैं मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ ओटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए ।


