Nepal Purbadhar

एक सातापछि खुल्यो बेनी–दरवाङ सडक, तत्कालका लागि यातायात सञ्चालन


म्याग्दी। म्याग्दीको पश्चिमी भेगका तीन ओटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक सातापछि सञ्चालनमा आएको छ।

बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि अवरुद्ध बनेको सडक आजदेखि यातायातका लागि खुलाइएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीले मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि तत्कालका लागि सडक सञ्चालनमा ल्याएको जनाएको छ। दसैं मनाउन जन्मथलो जाने र चाडपर्वपछि कर्मथलो फर्कने यात्रुलाई सडक अवरुद्ध हुँदा समस्या परेको थियो।

पहिरो पन्छाउने जिम्मा पाएको मङ्गला कन्स्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैंलाई लक्षित गरी सडक छिटो खुलाउने प्रयास गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समय लागेको बताए।

उनका अनुसार तत्कालका लागि यातायात सञ्चालन हुने गरी सडक खुलाइएको भए पनि यसको दिगो समाधानका लागि थप काम गर्न बाँकी छ। दसैंको चहलपहल सकिएपछि पहिरोसँग सम्बन्धित बाँकी काम पूरा गरी सडकलाई भरपर्दो र जोखिमरहित बनाउने योजना रहेको उनले बताए।

२४ किलोमिटर लामो बेनी-दरवाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो। यस सडकलाई पश्चिम म्याग्दीको आवागमन र यातायातका लागि महत्वपूर्ण लाइफलाइन मानिन्छ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा स्थानीय बासिन्दा, यात्रु तथा दसैं मनाएर फर्किने सर्वसाधारण प्रभावित भएका थिए। तत्कालका लागि सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम हटाउन र यातायातलाई सुरक्षित बनाउन थप काम गर्नुपर्ने देखिएको छ।


Read Previous

दशैं सकेर काठमाडौँ फर्किने बढे, उपत्यकाका नाकामा सवारी चाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar