Nepal Purbadhar

नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने चीनको निर्णय, राष्ट्रपति सीको नेतृत्वमा बैठक


काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यबारे चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) नेतृत्वको बैठक गरेका छन्।

शुक्रबार बसेको सीपीसीको राजनीतिक ब्युरो बैठकले नेपालका विपद् प्रभावित क्षेत्रमा सहयोग गर्ने र उद्धारका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्ने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बैठकमा चीनको केरुङ काउन्टीमा तत्काल उद्धार कार्यक्रम सञ्चालन गरिएको र प्रभावित मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको जानकारी गराइएको थियो।

अत्यन्त चिसो र भिरालो क्षेत्रमा विपद् भएकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित विभागलाई प्रभावकारी उद्धार उपाय अपनाउन निर्देशन दिएको छ।

बैठकले बेपत्ताको खोजी तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्न र सकेसम्म छिटो बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धार गर्न जोड दिएको छ।

यसअघि भदौ १० गते पनि राष्ट्रपति सीले तत्काल उद्धार तथा राहतमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका थिए।

सोहीअनुसार चिनियाँ प्रधानमन्त्री ली छियाङले बिहीबार केरुङ क्षेत्रको भ्रमण गरी उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिएका थिए।- सिन्ह्वा


Read Previous

मुक्तिनाथ विकास बैंकले बाढीपीडितको राहतका लागि सरकारलाई दियो ५० लाख

Read Next

बाढी प्रभावित १२० साइटमध्ये ८० मा नेपाल टेलिकमको सेवा सुचारु, अन्यमा काम तीब्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar