Nepal Purbadhar

बाढी प्रभावित १२० साइटमध्ये ८० मा नेपाल टेलिकमको सेवा सुचारु, अन्यमा काम तीब्र


काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा मोबाइल तथा दूरसञ्चार सेवा पुनः सञ्चालनलाई तीव्रता दिएको छ।

कम्पनीका अनुसार भदौ ११ गते हेलिकोप्टरमार्फत कर्मचारी परिचालन गरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ स्थित सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको थियो।

भदौ १२ गतेदेखि नेपाल टेलिकमका प्राविधिकहरू रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन हुन बाँकी स्थानमा सेवा पुनःस्थापना तथा सञ्चालनमा आएका टावरलाई थप भरपर्दो बनाउन कार्यक्षेत्रमा खटिएका छन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित गोलजुङ टावर सञ्चालनमा आएपछि स्याफ्रुबेसी, पार्वतीकुण्ड गाउँपालिकाका वडा नं. ४ र ५, गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. ३ र ५ तथा स्याफ्रुबेसी-टिमुरे राजमार्गका केही भागमा सेवा सुचारु भएको छ।

त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका-३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका-१० र ११ तथा सूर्यगढी गाउँपालिका-४ का केही क्षेत्रमा दूरसञ्चार सेवा सुचारु भएको टेलिकमले जनाएको छ।

विदुर नगरपालिका-८ स्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमाथिको डाँडामा रहेको टेलिकम टावरमा हेलिकोप्टरमार्फत जेनेरेटर, पेट्रोल र प्राविधिक कर्मचारी पुर्‍याएर सेवा सुचारु गर्ने काम भइरहेको छ।

नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन गरिरहेका छन्।

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा सुचारु भइसकेको नेपाल टेलिकमले जनाएको छ।

विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको टेलिकमले जनाएको छ।


Read Previous

नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने चीनको निर्णय, राष्ट्रपति सीको नेतृत्वमा बैठक

Read Next

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड सहयोग जम्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar