Nepal Purbadhar

बाढीले खोसेको रक्षाबन्धन : शवगृहमा आफन्तको खोजी


चितवन । रक्षाबन्धनमा दाजु-बहिनीको मिलन र खुसीको माहोल हुनुपर्ने बेला चितवनको अस्थायी शवगृहमा सयौँ मानिस आफ्ना आफन्तको खोजीमा भौँतारिरहेका छन्।

रसुवाको भीषण बाढीमा परी बेपत्ता भएकाहरूका शव नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका छन्। नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका-१० स्थित चितवन उद्योग संघ परिसरमा बनाइएको अस्थायी चिस्यान कक्षमा राखिएका छन्।

शवको पहिचानका लागि कक्षबाहिर डिस्प्लेमा अनुहार देखाइएको छ। आफ्ना आफन्तको अनुहार भेटिन्छ कि भन्ने आशामा सयौँ मानिस त्यहाँ पुगिरहेका छन्।

शुक्रबार राजेन्द्र खनाल क्षेत्री पनि मोबाइलमा बहिनी सुजाता कौडेलको तस्बिर बोकेर शवगृहमा आफन्त खोजिरहेका थिए। गोसाइँकुण्ड यात्रामा निस्किएकी सुजाता बुधबार बिहानदेखि बेपत्ता छिन्। उनीसहित ४३ जना सवार बससमेत बाढीपछि बेपत्ता छ।

‘हामी दुई भाइको एउटा मात्र बहिनी हो । आज ऊ हामीसँग सम्पर्कमा छैन,’ राजेन्द्रले भने।

उता, चितवन पर्साकी कविता बानियाँ १९ वर्षीय भाइ राजन कार्कीको खोजीमा शवगृह पुगेकी छन्। टिमुरे भन्सारमा यात्रु लिन गएका राजन तीन दिनदेखि सम्पर्कविहीन छन्।

शवगृहको डिस्प्लेमा भाइको अनुहार नदेखिएपछि कविताको मनमा अझै उनी सुरक्षित रहेको आशा छ।

‘मलाई अझै पनि आशा छ कि मेरो भाइ त्यस्तो बाढीमा परेको छैन होला । ऊ कतै पाखा लागेर सुरक्षित बसेको होला,’ उनले भनिन्।

चितवनको अस्थायी पहिचान केन्द्रमा पुगेका राजेन्द्र र कविता प्रतिनिधि पात्र मात्र हुन्। यहाँ आउने हरेकको आँखामा आफ्ना मान्छे गुमाउनुको पीडा देखिन्छ।

चाडपर्वको समय सुरु हुँदै गर्दा विनाशकारी बाढीले धेरै परिवारलाई शोकमा डुबाएको छ। भौतिक संरचनासँगै कैयौँ परिवारका प्रियजन, खुसी र आशासमेत बाढीले बगाएको छ।

रसुवा बाढीमा परेकाहरूका शव नारायणी नदी हुँदै भारतसम्म पुगेका छन्। चितवनमा बिहीबारदेखि अस्थायी चिस्यान केन्द्र बनाएर शव संकलन भइरहेको छ। पहिचान भएका शव परिवारको जिम्मा लगाइएको छ।

चितवनमा हालसम्म २२१ वटा शव भेटिएको जनाइएको छ।

रिपोर्ट/तस्बिर: निशा श्रेष्ठ, चितवन/ नेपाल फोटो लाइब्रेरी


Read Previous

कासिबलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

Read Next

भोटेकोशी बाढी: हालसम्म ५३८ शव फेला, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar