
काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार विभिन्न आयोजनामा कार्यरत ९३४ जना श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन्।
इप्पानका अनुसार रसुवाका ७ आयोजनामा ७३० जना र नुवाकोटका ६ आयोजनामा २०४ जना सम्पर्कविहीन छन्।
रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली-१ का मात्रै ५७६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। रसुवागढी जलविद्युत् आयोजनाका ९३, लाङटाङ खोलाका ४२, चिलिमेका ८, मैलुङ खोलाका ७ र रसुवा-भोटेकोशी आयोजनाका ४ जना सम्पर्कविहीन छन्।
नुवाकोटमा माथिल्लो त्रिशूली-३ ‘बी’ का १५८ जना र माथिल्लो त्रिशूली-३ ‘ए’ का ४२ जना सम्पर्कविहीन छन्। अन्य आयोजनामा पनि केही कर्मचारी सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
हालसम्म माथिल्लो त्रिशूली-१ का २५४ जनाको सकुशल उद्धार भएको छ। सडक सम्पर्क विच्छेद भएकाले लाङटाङ, माथिल्लो त्रिशूली-१, त्रिशूली-३ ‘ए’ र चिलिमे क्षेत्रमा फसेकाको तत्काल उद्धार आवश्यक रहेको इप्पानले जनाएको छ।
उद्धार कार्यलाई तीव्र बनाउन गृह मन्त्रालय र नेपाली सेनामार्फत हेलिकोप्टरको व्यवस्था गर्ने पहल भइरहेको छ।
Total project of badi project-Rasuwa badi-mission person
