
काठमाडौं भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीका लागि २०० थान हेडल्याम्प र ९०० थान ब्याट्री सहयोग गरिएको छ।
सामाजिक संस्था विघ्नहर्ता नेपाल (Bignaharta Nepal) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत नेपाली सेना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उक्त सामग्री हस्तान्तरण गरेको हो।
सुरुङभित्र तथा बाढी प्रभावित क्षेत्रमा रातिको समयमा समेत खोज तथा उद्धार कार्य सञ्चालन गर्न सुरक्षाकर्मीलाई सहज होस् भन्ने उद्देश्यले हेडल्याम्प उपलब्ध गराइएको संस्थाले जनाएको छ।
रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले आवश्यक उपकरणको सहयोगले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।
