
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम संकलन भएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा उक्त रकम जम्मा भएको हो।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत तथा उद्धारका लागि कोषमा व्यक्ति तथा संस्थाबाट सहयोग जम्मा हुन थालेको हो।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्।
व्यक्तिगततर्फको नगद सहयोग भने दाताले मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
पछिल्लो सहयोगसँगै कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो।
यसअघि बिहीबार ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताबाट मात्रै मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।
यो रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश नभएको अर्थ मन्त्रालयले जनाएको छ।
