Nepal Purbadhar

बाढीपछि पृथ्वी राजमार्गमा ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

default


काठमाडौं । रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गर्दा पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

काठमाडौँलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख राजमार्ग पृथ्वी राजमार्गमा त्रिशूली नदीको कटानका कारण विभिन्न स्थानमा सडक भासिएको हो।

नागढुङ्गा-मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार मलेखुभन्दा अगाडि कृष्णभीरमा करिब १२० मिटर सडक बाढीले कटान गरेपछि पहिरो खसेर सडक भासिएको छ।

त्यस्तै, मलेखुबाट काठमाडौंंतर्फ करिब एक किलोमिटर दूरीमा रहेको परेवाभीरमा करिब १०० मिटर सडक कटान भएको छ। सडक विभागले त्यहाँ भित्तातर्फबाट करिब १०० मिटर वैकल्पिक सडक निर्माण गरी ग्राभेलिङ तथा मर्मतको काम अघि बढाएको छ।

मर्मत सम्पन्न भएपछि ठूला मालवाहक सवारीसमेत सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर मानन्धरले बताए।

यसैगरी छहरे-चालिसे क्षेत्रमा करिब ४० मिटर सडक कटान हुँदा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। नागढुङ्गा चेकपोस्टबाट करिब ५०० मिटर टाढा पनि करिब ८० मिटर सडक पहिरोले क्षति पुर्‍याएपछि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

ठूला सवारीलाई वैकल्पिक मार्ग

पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ। हेटौँडा-फर्पिङ हुँदै काठमाडौं आउने साना सवारीका लागि पनि वैकल्पिक मार्ग तोकिएको छ।

यसैबीच, फिस्लिङ क्षेत्रमा रोकिएका यात्रुले ज्यामिरेघाट पुल हुँदै गोरखाको सिउरेनीटार-घ्याल्चोकबाट बेनीघाट पुल निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्।

परेवाटारको सडक मर्मत सम्पन्न गरी १२ चक्केसम्मका मालवाहक सवारी सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ।

default
default

तस्बिर : प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


Read Previous

बाढी पीडितका तस्वीर-भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

Read Next

थप उद्धारका लागि माथिल्लो त्रिशूली-३ ‘ए’ पावर हाउसमा सेना र प्राधिकरणको टोली प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar