
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका पीडा र संवेदनशील अवस्थालाई समाचार बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेका छन्।
बाढीपछि रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, आफन्त गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकले आश्रय लिइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गरेका हुन्।
उनले विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी भएको बताए।
सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्नसमेत उनले सञ्चारकर्मीलाई आग्रह गरेका छन्। विशेषगरी बालबालिका तथा अन्य संवेदनशील अवस्थामा रहेका व्यक्तिको पहिचान खुल्ने तस्वीर, भिडियो वा व्यक्तिगत विवरण सहमतिबिना सार्वजनिक नगर्न र उद्धार तथा राहत कार्यमा अवरोध नपुग्ने गरी समाचार संकलन तथा प्रसारण गर्न उनले अनुरोध गरेका छन्।
बीभत्स तस्वीर-भिडियो पोस्ट तथा रिपोस्ट नगर्न आग्रह
सूचना तथा सञ्चार मन्त्रालयले विपद्का क्रममा ज्यान गुमाएका तथा प्रभावित व्यक्तिका हृदयविदारक तस्वीर, भिडियो वा विवरण सामाजिक सञ्जालमा पोस्ट तथा रिपोस्ट नगर्न विशेष आग्रह गरेको छ।
मन्त्रालयका अनुसार आफन्त गुमाएका परिवारजनले सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत आफ्ना आफन्तको भयावह अवस्था अथवा शवसम्बन्धी तस्वीर तथा भिडियो देख्दा थप मानसिक पीडा भोग्नुपर्ने अवस्था आउन सक्छ।
त्यसैले विपद्का समयमा भयावह, विचलित बनाउने तथा समाजमा थप त्रास सिर्जना गर्ने सामग्रीभन्दा सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई प्राथमिकता दिनसमेत अनुरोध गरेको छ।
अपुष्ट, कपोलकल्पित तथा एआईबाट सिर्जित भ्रामक सामग्री सार्वजनिक नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
बालबालिकाको तस्वीर सार्वजनिक नगर्न प्रेस काउन्सिलको आग्रह
यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको उद्धार तथा राहत वितरणका क्रममा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयतामा प्रतिकूल असर पर्ने गरी तस्वीर तथा भिडियो सार्वजनिक भइरहेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।
काउन्सिलका अनुसार राहत तथा उद्धारका नाममा बालबालिकाको असहाय अवस्था प्रदर्शन गर्ने, पहिचान खुल्ने तस्वीर तथा भिडियो सार्वजनिक गर्ने वा उनीहरूको मनोवैज्ञानिक अवस्थामाथि नकारात्मक असर पार्ने सामग्री सम्प्रेषण गर्नु बालमैत्री सञ्चार निर्देशिका, २०७३ को मर्मविपरीत हुन सक्छ।
प्राकृतिक विपद् वा दुर्घटनासम्बन्धी बीभत्स दृश्यले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्न सक्ने भएकाले सञ्चारमाध्यमले विशेष सजगता अपनाउनुपर्ने निर्देशिकामा उल्लेख छ।
बालबालिकाको अवस्था देखाउँदा उनीहरूको मनोविज्ञानमा पर्ने दीर्घकालीन असरलाई ध्यान दिनुपर्ने, राहत तथा उद्धारका नाममा उनीहरूको असहाय अवस्था देखाएर आत्मसम्मानमा ठेस पुर्याउन नहुने र नकारात्मक असर पर्ने गरी पहिचान सार्वजनिक गर्न नहुनेमा काउन्सिलले जोड दिएको छ।
त्यस्तै, व्यक्तिगत पहिचान खुल्ने गरी तस्वीर वा श्रव्यदृश्य सामग्री सम्प्रेषण गरेर बालबालिकालाई जोखिममा पार्न नहुने काउन्सिलले जनाएको छ।
आचारसंहिता उल्लंघन गर्ने सामग्रीमाथि निगरानी
भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि निगरानी बढाइएको प्रेस काउन्सिलले जनाएको छ।
काउन्सिलले आचारसंहिता विपरीतका सामग्री हटाउन सम्बन्धित माध्यमलाई निर्देशन दिनुका साथै आवश्यकताअनुसार सचेत गराउने र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
विपद् प्रभावित बालबालिकामा मनोवैज्ञानिक असर पार्ने, आत्मसम्मानमा ठेस पुर्याउने तथा गोपनीयता र मर्यादामा प्रतिकूल असर पार्ने तस्वीर तथा भिडियो सम्प्रेषण नगर्न आमसञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले आग्रह गरेको छ।
विपद्को रिपोर्टिङ गर्दा सञ्चारमाध्यमले नागरिकलाई वास्तविक अवस्था, उद्धार तथा राहतसम्बन्धी आवश्यक सूचना दिनुपर्ने भए पनि त्यससँगै पीडितको अधिकार र मानवीय संवेदनशीलताको संरक्षणलाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायहरूको जोड छ।
विशेषगरी बालबालिका, सुत्केरी महिला, परिवारका सदस्य गुमाएका व्यक्ति, घाइते तथा मानसिक रूपमा संवेदनशील अवस्थामा रहेका नागरिकसँग समाचार संकलन गर्दा उनीहरूको सहमति, सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिनुपर्ने बताइएको छ।
समाचारको प्रभाव बढाउने नाममा पीडितको दुःखलाई अतिरञ्जित गर्ने, सनसनीपूर्ण दृश्य प्रस्तुत गर्ने वा व्यक्तिगत पहिचान खुल्ने सामग्री सार्वजनिक गर्ने प्रवृत्तिले पीडितलाई थप मानसिक तथा सामाजिक क्षति पुर्याउन सक्ने भएकाले सरकार र प्रेस काउन्सिलले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका छन्।
