
काठमाडौं । बुध्द एयरले नयाँ सिरिजको एटीआर-७२-६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। नयाँ जहाजले शुक्रबार बिहान काठमाडौं-नेपालगञ्ज पहिलो व्यावसायिक उडान गरेको हो।
9N-AOS कलसाइनको उक्त जहाजले ६६ जना यात्रुसहित बिहान ८ बजेर ६ मिनेटमा काठमाडौं विमानस्थलबाट नेपालगञ्जका लागि उडान भरेको थियो।
बुध्द एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल ल्याएको थियो। त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया र रंगरोगनको काम पूरा गर्न करिब एक महिना लागेको कम्पनीले जनाएको छ।
नयाँ एटीआर-७२-६०० जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। क्षेत्रीय उडानका लागि प्रयोग हुने यो सिरिजका जहाजले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ।
जहाजमा आरएनपी-एआर नेभिगेसन प्रणाली समेत रहेको छ। यसले निर्धारित मापदण्ड र प्रक्रियाअनुसार कम भिजिबिलिटीमा पनि उडान तथा अवतरणलाई सहज बनाउने कम्पनीको भनाइ छ।
नयाँ जहाजमा यात्रुका सिट तथा ओभरहेड बिन पहिलेको सिरिजभन्दा ठूलो रहेको छ। जहाजको आन्तरिक बनावटमा सुधार गरिएकाले ध्वनि प्रदूषण पनि अघिल्लो सिरिजको तुलनामा कम हुने कम्पनीले जनाएको छ।
बुध्द एयरले केही समयभित्रै थप एक एटीआर-७२-६०० जहाज ल्याउने तयारी गरेको छ। कम्पनीसँग हाल १४ ओटा एटीआर-७२-५०० र एक ओटा एटीआर-७२-६०० जहाज छन्।
राजमार्ग सहज नहुँदासम्म दशैंसम्म सस्तो भाडा
रसुवामा भदौ १० मा आएको भीषण बाढीका कारण राजमार्गलगायत सडक पूर्वाधारमा क्षति पुगेपछि सडक यातायात प्रभावित भएको भन्दै बुध्द एयरले राजमार्ग सहज नहुँदासम्म न्यूनतम तथा सस्तो भाडादरमा उडान सञ्चालन गर्ने जनाएको छ।
बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले यस्तो भाडादर दशैं, तिहार तथा छठसम्म कायम रहने बताए।
‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो,’ बस्नेतले भने, ‘यसैकारण राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेका छौं।’
सस्तो भाडामा उडान सञ्चालन गर्दा कम्पनीले आर्थिक भार बेहोर्नुपर्ने भए पनि अहिलेको परिस्थितिमा राष्ट्रलाई आवश्यक परेको बेला योगदान गर्नुपर्ने बस्नेतले बताए।
‘कुनै वर्ष घाटा होला, कुनै वर्ष नाफा होला। भोलिको बिहानी फेरि सुनौलो भइहाल्छ,’ उनले भने, ‘अहिलेको परिस्थितिमा हामी सबै हृदयदेखि नै योगदान गर्नुपर्छ।’
हवाई इन्धनको मूल्य ७ महिनामा ९६ प्रतिशत बढ्यो
कम्पनीका अनुसार हवाई उडानको कुल सञ्चालन खर्चमा हवाई इन्धनको हिस्सा करिब ३५ देखि ४० प्रतिशत हुन्छ। पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्य ९६ प्रतिशतले बढेको छ।
मौसम प्रतिकूलता तथा एयर ट्राफिकका कारण उडानमा केही ढिलाइ हुनसक्ने भए पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन कम्पनी प्रतिबद्ध रहेको बस्नेतले बताए।
राहत सामग्रीको निःशुल्क हवाई ढुवानी
बुध्द एयरले बाढी तथा विपद् प्रभावित क्षेत्रका लागि विभिन्न जिल्लाबाट संकलित राहत सामग्री निःशुल्क हवाई ढुवानीसमेत गर्दै आएको जनाएको छ।
कम्पनीका अनुसार अहिलेसम्म ७ हजार ३ सय २२ केजी राहत सामग्री निःशुल्क ढुवानी गरी सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिएको छ।
बुध्द एयरले हाल आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान गर्दै आएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौं-वाराणसी साताको तीन दिन र काठमाडौं-कोलकाता साताको चार दिन उडान गर्दै आएको छ। पोखराबाट भैरहवा तथा नेपालगञ्जका लागि समेत उडान सञ्चालनमा छन्।
