
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा विद्युत् सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।
बाढीका कारण जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। मन्त्रालयले उद्धार कार्यसँगै अत्यावश्यक सेवामा विद्युत् आपूर्ति कायम गर्न वैकल्पिक प्रणाली प्रयोग गरेर सेवा सञ्चालनमा ल्याउने काम भइरहेको जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटका अधिकांश क्षेत्रमा वैकल्पिक मार्गबाट विद्युत् आपूर्ति सुचारु गरिसकेको छ। धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी प्रभावित क्षेत्रमा विद्युत् पुर्याइएको छ।
पूर्ण रूपमा विद्युत् नियमित हुन समय लाग्ने स्थानमा डिजेल जेनेरेटरसहितका प्राविधिक टोली परिचालन गरिएको छ। काठमाडौंलगायतका स्थानबाट २५–२५ केभीएका दुई ओटा र ५० केभीए क्षमताको डिजेल जेनेरेटरसहित चार ओटा प्राविधिक टोली नुवाकोट पठाइएको छ।
ती टोलीले अस्पताल, दूरसञ्चार सेवा तथा अन्य अत्यावश्यक क्षेत्रमा जेनेरेटर जडान गरी विद्युत् आपूर्ति कायम राख्ने काम गरिरहेका छन्।
मन्त्रालयका अनुसार रसुवामा पनि विद्युत् सेवा सञ्चालनका लागि विभिन्न वैकल्पिक उपाय अपनाउने तयारी भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको प्राविधिक मूल्यांकन गर्दै नियमित विद्युत् प्रणाली पुनःस्थापनाको कामसमेत अघि बढाइएको छ।
बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धारलाई समेत प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
उद्धार, राहत तथा अत्यावश्यक सेवा सञ्चालनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी काम भइरहेको मन्त्रालयको भनाइ छ।
