Nepal Purbadhar

तमोर कोरिडोरले राँके बजारको व्यापार ६० प्रतिशत घटायो


काठमाडौं । तमोर कोरिडोर सडक हुँदै ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेसँगै मेची राजमार्गमा पर्ने पाँचथर र इलामको सीमावर्ती राँके बजारको व्यापार प्रभावित भएको छ । सडक पहुँच विस्तारसँगै यात्रुको आवागमनको मार्ग परिवर्तन हुँदा राँके बजारमा ग्राहकको चहलपहल घटेको हो ।

विगतमा मेची राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक थिए । तर पछिल्लो समय धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोर भएर ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि राँके बजारमा व्यापार घट्दै गएको व्यवसायीहरूको भनाइ छ ।

स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षदेखि राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । विगतको तुलनामा अहिले बजारको व्यापार करिब ६० प्रतिशतले घटेको उनले बताए ।

त्यस्तै, अर्की व्यवसायी निशा श्रेष्ठले कोरोना महामारीपछि बजारको व्यापारले पुरानै गति लिन नसकेको बताइन् । राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्टले सडकको पहुँच विस्तार, महँगी र यस वर्ष दसैँमा पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीको सङ्ख्या घट्नुले पनि बजारको व्यापार प्रभावित भएको बताए ।

राँके बजार पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामको देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि तथा स्थानीय वस्तुको बिक्री केन्द्रसमेत हो ।

यहाँ अकबरे खुर्सानी, खुर्सानीको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा विभिन्न जडीबुटी बिक्रीका लागि ल्याउने गरिन्छ । स्थानीय उत्पादनको व्यापार भने राजमार्गमा आधारित व्यवसायको तुलनामा अझै कायम रहेको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताए ।

उनका अनुसार राँके बजारमा उत्पादित तथा संकलित स्थानीय वस्तु तराईका विभिन्न सहर, काठमाडौं र भारतका बजारसम्म पुग्ने गरेका छन् । यसले राजमार्गमा यात्रुको चहलपहल घटे पनि स्थानीय कृषि उत्पादनको बजार विस्तारमा सम्भावना रहेको देखाउँछ ।


Read Previous

एनपीएल: लुम्बिनीलाई शीर्ष दुईको लक्ष्य, विराटनगरलाई प्लेअफ जोगाउने चुनौती

Read Next

पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar