
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा सुरू भएको छ। किर्तिपूर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदनामा टस जितेर लुम्बिनी लायन्सले बिराटनगर किङ्स बिरुद्ध पहिले बलिङ गरिरहेको छ।
दुवै टोलीका लागि खेल महत्त्वपूर्ण भए पनि उनीहरूको लक्ष्य भने फरक छ। साविक विजेता लुम्बिनी शीर्ष दुईमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ भने विराटनगर प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ।
९ अंक जोडिसकेको लुम्बिनीले आजको खेल जिते पहिलो क्वालिफायर खेल्ने स्थान पक्का गर्नेछ। टोली यसअघि नै प्लेअफमा पुगिसकेको छ। विराटनगर भने आज पराजित भए प्लेअफ दौडबाट बाहिरिनेछ।
विराटनगरले जित निकालेको अवस्थामा भने प्लेअफको समीकरण आइतबार हुने खेलपछि मात्रै टुंगिनेछ। विराटनगर पराजित भए काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुग्नेछन्।
आजको खेलअघि लुम्बिनी र सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाइसकेका छन्। पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स भने प्लेअफ दौडबाट बाहिरिसकेका छन्।
लुम्बिनी पछिल्लो संस्करणदेखि एनपीएलमा बलियो लयमा देखिएको छ। गत संस्करणका सुरूका तीन खेलमा पराजित भए पनि त्यसपछि अपराजित यात्रा कायम राखेको लुम्बिनीले यसपटक पनि उपाधि रक्षाको अभियान राम्रोसँग अघि बढाएको छ।
यस सिजन लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै प्रतियोगिताको सुरूवात गरेको थियो। त्यसपछि पोखरा एभेन्जर्सलाई ८ विकेट, जनकपुर बोल्ट्सलाई १६ रन र कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। पाँचौं खेलमा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएको लुम्बिनीको चितवन राइनोजसँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।
विराटनगरको प्रदर्शन भने उतारचढावपूर्ण रहँदै आएको छ। टोली पहिलो खेलमा चितवन राइनोजसँग ८ रन र दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको थियो। त्यसपछि वर्षाका कारण ५ ओभरमा घटाइएको खेलमा सुदूरपश्चिमलाई ३५ रनले हराएको विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको थियो। पाँचौं खेलमा काठमाडौं गोर्खाजसँग ९ विकेटले पराजित भएपछि विराटनगरको प्लेअफ सम्भावना कमजोर बनेको थियो।
लुम्बिनीको अग्रता
एनपीएलमा लुम्बिनी र विराटनगरबीच यसअघि तीन खेल भएका छन्। तीमध्ये लुम्बिनीले दुई र विराटनगरले एक खेल जितेका छन्।
पहिलो संस्करणमा भएको भेटमा विराटनगरले लुम्बिनीलाई २ विकेटले पराजित गरेको थियो। लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो। अन्तिम एक बल बाँकी रहँदा विराटनगरले रोमाञ्चक जित निकालेको थियो।
दोस्रो संस्करणमा भने लुम्बिनीले बदला लिँदै विराटनगरलाई ५ विकेटले हराएको थियो। विराटनगरले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
त्यसको आठ दिनपछि भएको दोस्रो क्वालिफायरमा पनि लुम्बिनीले विराटनगरलाई ४० रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १३४ रन बनाएको थियो। जवाफमा विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटिएको थियो।
आजको प्रतिस्पर्धामा लुम्बिनी आफ्नो शीर्ष दुईको लक्ष्य पूरा गर्ने प्रयासमा हुनेछ भने विराटनगरका लागि प्लेअफको आशा जीवित राख्ने निर्णायक अवसर हुनेछ।


