
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले नाका यथाशीघ्र खुलाउन अनुरोध गरेका हुन्।
गत भदौमा आएको बाढीले रसुवागढी नाका बन्द भएको र चीनसँग जोडिएका अन्य उच्च हिमाली नाका चिसोका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा तातोपानी नाका महत्वपूर्ण रहेको मन्त्री खनालले बताए।
उनले तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र दुई देशबीचको ऐतिहासिक मित्रताको प्रतीकसमेत भएकाले व्यापार तथा पारवहन सम्पर्कका लागि तत्काल सञ्चालन गर्न आवश्यक रहेको बताए।
जवाफमा चिनियाँ प्रतिनिधिमण्डलका अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिए।
भेटवार्तामा नेपाल र चीनबीचको व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शिक्षालगायत विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

