
काठमाडौं । सरकारले बाढी, पहिरो, आगलागीलगायतका विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद् प्रतिकार्यमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मीले विपद्का बेला जोखिम मोलेर उद्धार तथा राहतमा पुर्याउँदै आएको योगदानको कदर गर्दै सुविधा बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने जनशक्तिलाई राज्यका तर्फबाट प्रोत्साहन र सम्मानको अनुभूति गराउनु आवश्यक रहेकाले यस्तो निर्णय गरिएको हो।
कार्यकारी समितिको निर्णयअनुसार अब सम्बन्धित सुरक्षा निकायले आफ्नो तालुकदार मन्त्रालयमा सेवा–सुविधा परिमार्जनसम्बन्धी प्रस्ताव पठाउनेछन्। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछ।
