
काठमाडौं। विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरुमा फेरि तनाव बढेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले शनिबार दुई ओटा तेल ट्यांकर ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ।
इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरेर आवश्यक अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ। तीमध्ये एउटा ठूलो क्षमताको सुपरट्यांकर रहेको जनाइएको छ। यद्यपि, जहाजको नाम, राष्ट्रियता र उत्पत्तिबारे इरानले खुलाएको छैन।
फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरू भएयता तेहरानले होर्मुज जलडमरुमा आवागमनका लागि आफ्नो अनुमति अनिवार्य रहेको बताउँदै आएको छ। अनुमति नलिई जलमार्ग प्रवेश गर्ने जहाजमाथि आक्रमणका घटनासमेत भएका छन्।
यसैबीच, इरानले रणनीतिक जलमार्गमा जहाजको आवागमन नियन्त्रण कडा बनाएपछि अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ। अमेरिकाले होर्मुज जलडमरु प्रयोग गर्ने तेल ट्यांकरलाई सैन्य सुरक्षा तथा सहयोगसमेत उपलब्ध गराउँदै आएको छ।
पछिल्ला साताहरूमा जलडमरु क्षेत्रमा विभिन्न जहाजमा आगलागी तथा विस्फोटका घटना भएको इरानी सेनाले जनाएको छ। शुक्रबार पनि ग्यास बोकेको एउटा जहाज समुद्री बारुदमा ठोक्किएको इरानको दाबी छ। उक्त घटनापछि जहाजबाट धुवाँको मुस्लो निस्किएको भिडियोसमेत सार्वजनिक गरिएको थियो।
यद्यपि, अमेरिकी सेनाले भने जलमार्गका मुख्य आवागमन मार्गबाट समुद्री बारुद हटाइसकेको जनाएको छ। इरान र अमेरिकाका दाबीबीच जलमार्गको सुरक्षाबारे विवाद कायमै रहेको छ।
होर्मुज जलडमरु विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो। यस क्षेत्रबाट विश्व बजारमा ठूलो परिमाणमा कच्चा तेल तथा पेट्रोलियम पदार्थ ढुवानी हुने भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति, ढुवानी लागत र विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा प्रभाव पार्न सक्छ।


