Nepal Purbadhar

छठका लागि कुलेश्वर बजारमा बढ्यो केराको कारोबार, घरीकै मूल्य १२ सयसम्म


काठमाडौं। छठ पर्व नजिकिएसँगै काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारमा केराको किनमेल बढेको छ। छठ पूजामा केरालाई प्रमुख सामग्रीका रूपमा चढाइने भएकाले बजारमा बिहानैदेखि उपभोक्ताको चहलपहल बढेको हो।

छठलाई लक्षित गर्दै व्यापारीहरूले देशका विभिन्न जिल्लाबाट केरा ल्याएर बिक्री गरिरहेका छन्। बजारमा मकवानपुर, चितवन, नवलपरासी, कैलाली, बारा, सर्लाही, झापा, मोरङ र उदयपुरलगायत जिल्लाबाट केरा आउने गरेको व्यापारीहरू बताउँछन्।

कुलेश्वर फलफूल बजारमा विगत २० वर्षदेखि व्यापार गर्दै आएका डम्बरबहादुर बस्नेतका अनुसार यस वर्ष नेपाली केराको उपलब्धता राम्रो छ। मकवानपुरको बागमती गाउँपालिका र उदयपुरको कटारीलगायत क्षेत्रबाट उत्पादित केरा बजारमा आइरहेको उनले बताए।

विगतमा सस्तो भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली किसानको उत्पादनले बजार पाउन कठिन हुने गरेको थियो। तर, अहिले भारतीय केरा आयात बन्द भएपछि नेपाली उत्पादनले बजार पाएको बस्नेतको भनाइ छ। उत्पादन लागत बढी हुने भएकाले नेपाली केराको मूल्यमा प्रतिस्पर्धा गर्न भने अझै चुनौती रहेको उनले बताए।

छठका लागि उपभोक्ताले साना आकारका केरा बढी खोज्ने गरेका छन्। मागअनुसार व्यापारीहरूले विभिन्न आकार र मूल्यका केरा बजारमा ल्याएका छन्। गुणस्तर र आकारअनुसार अहिले केराको मूल्य प्रतिगोटा ८ देखि १२ रुपैयाँसम्म रहेको बस्नेतले जानकारी दिए।

यस वर्ष ढुवानी भाडा बढ्दा केराको लागतसमेत बढेको व्यापारीहरूको भनाइ छ। सामान्य अवस्थामा २० हजार रुपैयाँमा हुने गाडी भाडा पर्वको समयमा ३० हजार रुपैयाँसम्म पुगेको बस्नेतले बताए।

यता, उपभोक्ताले भने गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य महँगिएको गुनासो गरेका छन्। कलंकीबाट केरा किन्न कुलेश्वर पुगेकी सोनुले यस वर्ष केराको मूल्य करिब दोब्बर महँगो भएको महसुस गरेको बताइन्।

उनका अनुसार गत वर्ष ६०० देखि ८०० रुपैयाँसम्ममा पाइने केराको घरी यस वर्ष राम्रो गुणस्तरको किन्न एक हजारदेखि १ हजार २०० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ।

छठ पर्वमा केरासँगै नरिवल, स्याउ, सुन्तला, उखु, भोगटे, अम्बा र अन्य फलफूलको पनि माग बढ्ने गर्छ। पर्व नजिकिँदै जाँदा कुलेश्वर बजारमा फलफूलको कारोबार थप बढ्ने व्यापारीहरूको अपेक्षा छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

होर्मुज जलडमरुमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar