
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीय बासिन्दाको उद्धारलाई प्राथमिकतामा राख्दै नुवाकोटमा विद्युत् सेवा पुनःस्थापना गरेको छ । अब नुवाकोटका अधिकांश स्थानमा विद्युत नियमित भएको छ।
बाढीबाट नियमित विद्युत् आपूर्ति प्रणाली प्रभावित भएपछि प्राधिकरणले नुवाकोटका अधिकांश अत्यावश्यक स्थानमा वैकल्पिक मार्गबाट विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । त्यसका लागि धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभीको लाइनलाई ११ केभी लाइन चार्ज गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुर्याइएको प्राधिकरणले जनाएको छ।
विद्युत् आपूर्ति पूर्ण रूपमा नियमित हुन समय लाग्ने क्षेत्रमा प्राधिकरणले ब्याकअप व्यवस्थासमेत अघि बढाएको छ । काठमाडौंलगायतका स्थानबाट २५ / २५ केभीएका दुई वटा र ५० केभीए क्षमताका डिजेल जेनेरेटरसहित चार वटा प्राविधिक टोली नुवाकोट पठाइएको छ ।
प्राविधिक टोलीले अस्पताल, दूरसञ्चार सेवा तथा अन्य अत्यावश्यक क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्न जेनेरेटर जडान गर्नुका साथै ब्याकअप पावरको व्यवस्था मिलाइरहेको छ । अत्यावश्यक सेवाहरू प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक स्रोतबाट विद्युत् उपलब्ध गराउने काम भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै रसुवा जिल्लामा पनि विद्युत आपूर्ति सुचारु गराउन विभिन्न विकल्पको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको अवस्थाबारे प्राविधिक मूल्यांकन गर्दै नियमित विद्युत् आपूर्ति पुनःस्थापनाको काम पनि समानान्तर रूपमा अघि बढाएको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सामान्य अवस्थामा फर्काउन उपलब्ध जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी हरसम्भव प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
