Nepal Purbadhar

अविरल वर्षा र बाढीपहिरोले विद्युत् संरचनामा क्षति, आपूर्ति असहज, कहाँ कति भयो क्षति ?

तस्बिर: सर्लाही, ११, असोज लगातारको वर्षापछि आइतबार डुबानमा परेकाे सर्लाहीको मलङ्गवा नगरपालिका–२,स्थितनेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रको सबस्टेशन । निकास नहुँदा वर्षातकाे पानीले सबस्टेसनकाे कन्ट्रोल प्यानल डुबाउँदा गएराति देखिनै यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।


काठमाडौं। अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन, अवरुद्ध क्षेत्रको पहिचान तथा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

कालीगण्डकी करिडोरका टावरमा क्षति

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा-नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको प्राधिकरणले जनाएको छ।

प्रसारण लाइनमा आएको समस्याका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।

प्राधिकरणले क्षतिको प्रारम्भिक विवरण संकलन गर्नुका साथै क्षतिग्रस्त संरचनाको तत्काल मर्मत तथा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास गरिरहेको जनाएको छ।

विभिन्न जलविद्युत् आयोजनाको उत्पादन बन्द

बाढीका कारण देशका विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको छ।

प्राधिकरणका अनुसार १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी र ६९ मेगावाटको मर्स्याङ्दीलगायत आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।

मोदीलगायत अन्य जलविद्युत् आयोजनाको उत्पादनसमेत बाढीका कारण प्रभावित भएको प्राधिकरणले जनाएको छ।

वैकल्पिक माध्यमबाट आपूर्ति सुचारु गर्ने प्रयास

विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध अन्य प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ।

क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमशः पुनःस्थापना गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको छ।

भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध भएका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनर्स्थापनाको काम तीव्र बनाइने प्राधिकरणले जनाएको छ।

क्षतिग्रस्त विद्युत् संरचनाबाट टाढा रहन आग्रह

प्राधिकरणले विद्युत् संरचनामा क्षति पुगेका कारण केही स्थानमा आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति निरन्तरता दिन तथा सम्भव भएसम्म छोटो समयमा नियमित आपूर्ति पुनःस्थापित गर्न सबै स्रोतसाधन परिचालन गरिएको जनाएको छ।

विपद्को अवस्थामा उपभोक्तालाई संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार र पोल नजिक नजान प्राधिकरणले आग्रह गरेको छ।


Read Previous

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु,पर्वतमा कालीको बाढीले २५ घर बगायो

Read Next

कालीगण्डकीको बाढीले पर्वतमा ८० घर, म्याग्दीमा पुल र मानिस बगायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar