
default
अत्याधुनिक स्ट्रिट लाइटले रातमा झलमल्ल बालकुमारी–बल्खु सडक
काठमाडौँ, ४ साउन । चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको सडकखण्ड रातको समयमा झलमल्ल देखिन थालेको छ।
१३ करोड रुपैयाँ लगानीमा जडान गरिएको अत्याधुनिक स्ट्रिट लाइट बुधबारदेखि सञ्चालनमा आएपछि ७.९ किलोमिटर सडकखण्ड रातमा समेत उज्यालो बनेको हो।
स्ट्रिट लाइट जडानका लागि ललितपुर महानगरपालिकाले १० करोड रुपैयाँ र नेपाल विद्युत् प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन्।
सडकखण्डमा स्ट्रिट लाइट सञ्चालनमा आएपछि रातको समयमा सवारी चालक तथा पैदलयात्रीलाई आवतजावतमा सहज भएको छ। उज्यालो सडकले रात्रीकालीन यात्रालाई सुरक्षित बनाउनसमेत सहयोग पुगेको छ।
यसको प्रभाव सडकमा मात्र नभई हवाई यात्रामा समेत देखिएको छ। रातको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले जहाजबाट उज्यालो सडक र ललितपुरको दृश्य देख्न सक्ने भएका छन्।
अत्याधुनिक स्ट्रिट लाइट सञ्चालनमा आएपछि बालकुमारी–बल्खु सडकखण्ड ड्रोनबाट आकर्षक देखिएको छ।









तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
