
काठमाडौं। बागलुङको निसीखोला गाउँपालिका-३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको हो।
पहिरो बिहान करिब ४-५ बजेको समयमा खसेको जनाइएको छ।
यसै वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ। खोरमा रहेका २५ ओटा बाख्रामध्ये ८ ओटालाई पहिरोले बगाएको जनाइएको छ।
यस्तै, कालीगण्डकी नदीको बहाव बढेर पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा बस्तीमा पसेपछि २५ ओटा घर बगेका छन्।
नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। उक्त बस्तीमा करिब ८० घर रहेकोमा २५ ओटा घर बगेका छन् भने बाँकी घरसमेत जोखिममा छन्।
घटनामा हालसम्म मानवीय क्षति नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न नसकेको जनाइएको छ। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

