
काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र म्याग्दीमा ठूलो क्षति पुर्याएको छ। पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्से बस्तीमा ८० ओटा घर बगेका छन् भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पुल तथा सडकमा क्षति पुगेको छ।
कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका-८ फर्से बस्तीका ८० ओटा घर बगाएको सशस्त्र प्रहरीले जनाएको छ।
शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ गएका थिए। बाढीका कारण अन्य घरसमेत उच्च जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय तथा जिन्सी सामानलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
हालसम्म घटनामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। बाढीका कारण फर्से क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने फोन सम्पर्कमा समेत समस्या आएको छ।
म्याग्दीमा पुल बगायो, दुई जनाको खोजी जारी
कालीगण्डकीको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नम्बर-२ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ।
बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्ने उक्त पुल बगाएपछि अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सँगै मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ।
यसैगरी, अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा एउटा र वडा नम्बर ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ। पुरिएका घरमा रहेका दुई जनाको खोजी भइरहेको जनाइएको छ।
बेनी-जोमसोम सडकअन्तर्गत खामभित्तामा कालीगण्डकी नदीले सडकसमेत कटान गरेको छ। अन्नपूर्ण गाउँपालिका-४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा समेत बाढी तथा पहिरोका कारण क्षति पुगेको छ।
लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढिरहेकाले पर्वत र म्याग्दीका नदी तथा तटीय क्षेत्रमा थप जोखिम रहेको छ।

