
काठमाडौं। नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ। नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले आसपासका क्षेत्रमा डुबानको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार समाचार तयार पार्दासम्म देवघाटमा नारायणी नदीको जल सतह १०.८ मिटर पुगेको छ। उक्त स्थानमा नदीको चेतावनी तह ७.४ मिटर र खतरा तह ९ मिटर तोकिएको छ।
नदीको बहाव खतरा तह पार गरिसकेकाले नारायणी नदी आसपासका तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार नदीको बहाव अझै बढिरहेको छ। त्यसैले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेषगरी साँझसम्म सतर्क रहन र नदी किनार तथा तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ।
यसैगरी पर्वतस्थित कालीगण्डकी, लमजुङको चेपेखोला, म्याग्दीको मंगलघाट र चितवनको रिउखोलामा समेत पानीको सतह खतराको तहभन्दा माथि पुगेको जनाइएको छ।
खतरा तह पार गरेका यी सबै नदी तथा खोलाका जलमापन केन्द्र नारायणी नदी बेसिनअन्तर्गत रहेका छन्। लगातारको वर्षाका कारण नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

