
काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा पर्ने नाम्सी खोला पुलमाथि आइतबार बिहान लेदोसहितको पहिरो खसेपछि बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध भएको हो।
पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ। पहिरो पन्छाउन सडक डिभिजन भरतपुरले आवश्यक उपकरण परिचालन गरिसकेको जनाएको छ।
सडक डिभिजनका अनुसार पहिरो पन्छाउन करिब दुई घण्टा समय लाग्ने अनुमान गरिएको छ। पहिरो हटाएपछि सडक सञ्चालनमा ल्याइने जनाइएको छ।
वर्षा भइरहेकाले सडकमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

