
चितवन। देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर पुगेको छ । यो खतराको विन्दु ९ मिटरभन्दा १ मिटरभन्दा बढी हो ।
नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ ।

भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ । जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।
त्यस्तै, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटर चेतावनी तह र ३ दशमलव ८० मिटर खतराको तह मानिन्छ । जलसतह केही घटे पनि अहिले पनि खतराको सीमाभन्दा माथि नै रहेको छ ।

नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च रहेकाले नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
नारायणीमा बाढी बढेसंगै पश्चिम चितवनका बस्तीमा बाढी पस्ने संभावना बढेको छ । प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिए । चितवनमा पनि रातभर नै वर्षा भएको छ ।

राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

