
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा राष्ट्रिय प्रणालीमा थप ५२९ मेगावाट विद्युत् जोडिएसँगै प्राधिकरणको कुल जडित क्षमता ४ हजार १२० मेगावाट पुगेको हो।
प्राधिकरणका अनुसार विद्युत् ग्राहकको संख्या पनि बढेर ५९ लाख २७ हजार पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ग्राहक संख्या ३.८५ प्रतिशतले बढेको हो। कुल ग्राहकमा घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत, औद्योगिक ग्राहकको १.२० प्रतिशत र अन्य ग्राहकको हिस्सा ८.१६ प्रतिशत रहेको छ।
आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा ९.२७ प्रतिशतले बढेको छ। विद्युत् चुहावटसमेत घटाइएको छ। अघिल्लो आर्थिक वर्षमा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०८२/८३ मा १२.१६ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ।
निजी क्षेत्रबाट ३ हजार ४५९ मेगावाट विद्युत् उत्पादन
विद्युत् उत्पादनमा निजी क्षेत्रको सहभागिता पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा स्वतन्त्र विद्युत् उत्पादकले निर्माण गरेका २३ ओटा नयाँ आयोजनाबाट ५२८.९९ मेगावाट विद्युत् थप भएको छ।
यससँगै सञ्चालनमा रहेका निजी क्षेत्रका आयोजनाको संख्या २२७ पुगेको छ भने तिनको कुल जडित क्षमता ३ हजार ४५९ मेगावाट पुगेको छ।
यस्तै, वित्तीय व्यवस्थापन सम्पन्न भई ६ हजार ४७२.२१ मेगावाट कुल जडित क्षमता भएका २१३ ओटा आयोजना निर्माणाधीन अवस्थामा छन्। २ हजार २०० मेगावाटभन्दा बढी क्षमताका १०५ ओटा आयोजना विकासका विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ।
मध्य भोटेकोशीबाट १०२ मेगावाट थप
आर्थिक वर्ष २०८२/८३ मा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरू गरेको छ। ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई उत्पादन परीक्षण भइरहेको प्राधिकरणले जनाएको छ।
प्रसारणतर्फ कोहलपुर-सुर्खेत प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेश पहिलोपटक १३२ केभी प्रसारण सञ्जालमा जोडिएको छ। त्यस्तै खिम्ती-बाह्रबिसे ४०० केभी र मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि ती क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न सहज भएको छ।
हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा देखिएको समस्या समाधान गरी आगामी कात्तिकसम्म सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ।
आर्थिक वर्षको अन्त्यसम्म उच्च भोल्टेज प्रसारण लाइनको कुल लम्बाइ ७ हजार ११० सर्किट किलोमिटर पुगेको छ भने प्रसारण सबस्टेसनको क्षमता १५ हजार ५४१ एमभीए पुगेको छ। सो अवधिमा मात्रै सबस्टेसन क्षमतामा १ हजार ४१८ एमभीए थप भएको छ।
त्यस्तै १ हजार ६५० सर्किट किलोमिटर प्रसारण लाइन तथा ६ हजार २६१ एमभीए क्षमताका ग्रिड सबस्टेसन निर्माणाधीन अवस्थामा छन्।
२०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य
सरकारले सन् २०३५ सम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न प्राधिकरणले मध्यम तथा ठूला जलाशययुक्त र पिकिङ आयोजना, पम्प स्टोरेज, सौर्य ऊर्जा, ऊर्जा भण्डारण प्रणाली तथा प्रसारण र वितरण पूर्वाधार विस्तारलाई प्राथमिकता दिने भएको छ।
सीमापार विद्युत् प्रसारण क्षमता विस्तारका लागि बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ। चमेलिया-जौलजीबी २२० केभी, इनरुवा-पूर्णिया र दोधारा-बरेली सीमापार प्रसारण लाइनको निर्माण अघि बढाउने योजना छ। चिनियाँ सीमातर्फ चिलिमे-केरुङ/जिलुङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरू गर्ने लक्ष्यसमेत राखिएको छ।
वितरण प्रणाली आधुनिकीकरणमा जोड
प्राधिकरणले विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्दै पूर्ण विद्युतीकरण तथा वितरण सञ्जालको सुदृढीकरण, आधुनिकीकरण र स्वचालनलाई प्राथमिकता दिने भएको छ।
एससीएडीएसँग आबद्ध सबस्टेसन स्वचालन प्रणाली विस्तार गर्ने तथा नयाँ वितरण प्रणाली नियन्त्रण केन्द्र र डाटा सेन्टरमार्फत वितरण प्रणालीको सञ्चालन दक्षता बढाउने योजना छ।
काठमाडौं उपत्यकामा निर्माण भइरहेको भूमिगत वितरण प्रणालीलाई शीघ्र सम्पन्न गरी विद्युत् सुरक्षा तथा सहरी सौन्दर्य बढाउने कामलाई समेत प्राथमिकता दिइने प्राधिकरणले जनाएको छ।
त्यस्तै प्रमुख सहरमा स्मार्ट मिटर जडान, उच्च भोल्टेज प्रसारण लाइन निर्माण तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापनामा सार्वजनिक-निजी साझेदारीलाई प्राथमिकता दिने तयारी छ।
प्राधिकरणले हेटौँडामा २.५ मेगावाट क्षमताको इलेक्ट्रोलाइजर स्थापना गरी हरित अमोनिया तथा मिथानोल विकास गर्ने योजना अघि बढाउने भएको छ।
ऊर्जा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग
प्राधिकरणका कामलाई डिजिटल रूपान्तरण गर्दै कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने योजना पनि अघि सारिएको छ।
उच्च क्षमताको कम्प्युटिङ, बिग डाटा तथा क्लाउडमा आधारित सेवासहित कृत्रिम बुद्धिमत्ता डाटा सेन्टर विकास गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ। यसबाट तथ्यांक सुरक्षा, नवप्रवर्तन, लगानी आकर्षण तथा जलविद्युत् स्रोतमा आधारित दिगो डिजिटल पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै प्राधिकरणले सञ्चालनमा ल्याएको एआई च्याटबट तथा ‘नो लाइट’ च्याटबट सेवालाई आगामी दिनमा थप सुधार गरी अन्य कार्यक्षेत्रमा समेत विस्तार गर्ने भएको छ। यसबाट ग्राहकका जिज्ञासा तथा गुनासा सम्बोधन, राय-सुझाव संकलन र सूचना प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य छ।
