
फाइल तस्बिर।
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित रूपमा अवलोकनकर्ताको आकर्षण बढेको छ। यहि अवस्थामा अवलोकन कर्ता उपस्थित भएमा शनिबार र आइतबारको सार्वजनिक बिदाको दिन व्यवस्थापन चुनौती बढ्ने देखिएको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार एक्स्पोमा दैनिक औसत २५ हजार र मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको थियो। तर, सुरुवाती चार दिनमै अपेक्षाभन्दा बढी अवलोकनकर्ता पुगेपछि बिदाका दिनका लागि थप व्यवस्थापन गर्न लागिएको छ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको सहजताका लागि विशेषगरी सवारी पार्किङको व्यवस्था मिलाइएको बताए।
‘सुरुवाती चार दिनमा भृकुटीमण्डप क्षेत्रका खुला स्थल र नेपाल प्रहरी क्लब भवनका दुवै तला खचाखच भएर पनि पार्किङका लागि ठाउँ अभाव भइरहेको थियो,’ उनले भने, ‘अवलोकनकर्ताको उल्लेख्य सहभागिताका कारण शनिबार र आइतबारका लागि पार्किङको विशेष तयारी गरेका छौं।’
एक्स्पोको व्यवस्थापकीय टिमका अनुसार एक्स्पो सुरु हुनुअघिदेखि नै भृकुटीमण्डपको प्रवेशद्वारमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ।
‘एक्स्पो स्थल खुला हुने समय ११ बजे हो तर १० बजेदेखि नै अवलोकनकर्ता आइसकेका हुन्छन्,’ एक आयोजक सदस्यले भने, ‘यो स्तरको आकर्षणले हामीलाई निकै उत्साहित बनाएको छ।’
भक्तपुरको पुरानो ठिमीकी नवीना नकर्मीले पनि आफूले अनुमान गरेभन्दा बढी मानिस मेला स्थलमा पुगेको बताइन्। विगतका अटो मेलामा समेत सहभागी हुँदै आएकी उनले यसपटकको भीड अहिलेसम्मकै धेरै भएको बताइन्।
‘म विगतका अटो मेलाहरूमा पनि आउने गरेको थिएँ,’ उनले भनिन्, ‘तर यति धेरै भीड अहिलेसम्म देखेको थिइनँ।’
चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता
एक्स्पोमा चार दिनमै १ लाख ८ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन्। उद्घाटनको दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्।
मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै अवलोकनकर्तालाई आफ्ना प्रदर्शनी कक्षमा आकर्षित गरिरहेका छन्।
सवारीसाधनका विकल्प धेरै भएकाले अवलोकनकर्तालाई आफूले खोजेको सवारीसाधन छनोट गर्न सहज भएको आयोजकको भनाइ छ।
दुईपाङ्ग्रे सवारीसाधनमा पनि उल्लेख्य भीड देखिएको छ। विशेषगरी महँगा ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा युवाको आकर्षण बढी देखिएको छ।
अवलोकनकर्ताले सवारीसाधन खरिद गर्दा ब्याट्रीको क्षमता, मोटर, एकपटकको चार्जमा तय गर्न सकिने दूरी, बिक्रीपछिको सेवा, ब्याट्रीको प्रत्याभूति तथा ग्यारेन्टी र पुनः बिक्री गर्दा प्राप्त हुने मूल्यलगायतका विषयमा बढी चासो राखेका छन्।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क मर्मत तथा न्यून ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराएका छन्।
मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्। मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने आयोजकको अपेक्षा छ।
ब्याट्री पुनर्चक्रण र इन्धनमा इथानोल मिश्रणबारे छलफल
नाइमा मोबिलिटी संवादअन्तर्गत शुक्रबार ‘ब्याट्री पुनर्चक्रण र इन्धनमा इथानोल मिश्रण’ विषयमा प्राविधिक छलफल भएको छ।
छलफलको सहजीकरण लक्ष्मी समूहका महाप्रबन्धक दीपक थपलियाले गरेका थिए।
छलफलमा सवारीसाधन परीक्षण केन्द्रका वरिष्ठ विभागीय इन्जिनियर सुरेश श्रेष्ठ, व्यवस्थापन तथा होमोलोगेसन विज्ञ प्रा. डा. बलराज भनोट, भारतको लोहुम क्लिनटेकका व्यावसायिक साझेदारी सहायक महाप्रबन्धक जतिन मक्कर, सवारीसाधन उद्योग तथा यातायात क्षेत्रका विज्ञ आकाश गोल्छा, नेपाल अटोमोबाइल तथा मोबिलिटी संघका निवर्तमान अध्यक्ष सागर गजुरेल तथा रिब्याटका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत करण खुराना सहभागी थिए।
यसअघि बिहीबार ‘वित्त र बिमामार्फत यातायात क्षेत्रलाई गतिशील बनाउने’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो।
बुधबारको सिकाइ सत्रमा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो भने एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिका लागि गतिशील इन्धन’ विषयमा छलफल भएको थियो।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।

