
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी ऊर्जा उद्यमी गणेश कार्कीलाई आफ्नो सल्लाहकार नियुक्त गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निवर्तमान अध्यक्षसमेत रहेका कार्कीलाई मन्त्री श्रेष्ठले बिहीबार निजी क्षेत्रतर्फको सल्लाहकारका रूपमा नियुक्त गरेका हुन्।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी र भूमिका निरन्तर विस्तार भइरहेका बेला मन्त्री श्रेष्ठले निजी क्षेत्रबाट सक्रिय उद्यमीलाई सल्लाहकार नियुक्त गरेका हुन्। पछिल्लो समय निजी क्षेत्रले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार, प्रसारण पूर्वाधार, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) लगायतका विषयमा सरकारसँग विभिन्न माग तथा सुझाव राख्दै आएको छ।
नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहँदै आएको छ। पीपीए खुलाउने, उत्पादित विद्युत्को बजार सुनिश्चित गर्ने तथा विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने विषयलाई निजी क्षेत्रले प्राथमिकताका साथ उठाउँदै आएको छ। यी विषयमा सरकार र निजी क्षेत्रबीच समन्वय तथा संवादलाई प्रभावकारी बनाउन कार्कीको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
निजी क्षेत्रका सक्रिय उद्यमीलाई सल्लाहकार नियुक्त गर्ने मन्त्री श्रेष्ठको निर्णयले ऊर्जा क्षेत्रका निजी लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको छ। निजी क्षेत्रका समस्या, चुनौती र मागलाई सरकारसमक्ष प्रभावकारी रूपमा पुर्याउन कार्कीको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।
कार्की जलविद्युत् क्षेत्रमा प्रवर्द्धकसँगै इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिकर्ताका रूपमा समेत लामो अनुभव भएका उद्यमी हुन्। उनी सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक, पिपुल्स हाइड्रोपावर प्रालिका निर्देशक, बेनी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक तथा युनियन हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशकका रूपमा कार्यरत छन्।
त्यसैगरी उनी बीजी ग्रुपलगायत विभिन्न व्यावसायिक उपक्रममा प्रवर्द्धकका रूपमा संलग्न छन्। बैहव पावर नेपाल प्रालिका कार्यकारी अध्यक्ष तथा क्रिम हाइड्रोपावरका निर्देशकका रूपमा समेत उनले जिम्मेवारी सम्हालिरहेका छन्।
कार्की ऊर्जा क्षेत्रसँगै अन्य विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिमा समेत सक्रिय छन्। उनी नेसनल गोजुर्यु कराते एसोसिएसन नेपालका अध्यक्ष हुन्। यसअघि उनी नेपालका लागि गणतन्त्र मौरिससका मानार्थ वाणिज्यदूतका रूपमा समेत नियुक्त भएका थिए।
मन्त्री श्रेष्ठको सल्लाहकारका रूपमा कार्कीको नियुक्तिलाई निजी क्षेत्र र सरकारबीचको संवाद तथा सहकार्यलाई थप संस्थागत बनाउने प्रयासका रूपमा हेरिएको छ।


